झापा । झापा जिल्लामा आयोजित पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा जिल्लाका स्थानीय तहहरूले पूर्ण खोप सुनिश्चितता कायम राख्न तथा त्यसको दिगोपना सुनिश्चित गर्न गरेका प्रयासहरूको समीक्षा गरिएको थियो। उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय तहहरूलाई कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको थियो।



सोही क्रममा कमल गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता हासिल गरी त्यसको दिगोपना कायम राख्न सफल भएको भन्दै प्रमाणपत्र प्राप्त गरेको छ। भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले उक्त प्रमाणपत्र कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहाललाई हस्तान्तरण गर्नुभएको थियो।
कमल गाउँपालिकाले विगतदेखि नै नियमित खोप सेवाको पहुँच विस्तार, खोप छुटेका बालबालिकाको खोजी तथा खोप सुनिश्चितता अभियान, समुदायस्तरमा जनचेतना अभिवृद्धि र स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको सक्रिय परिचालनमार्फत उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ।
गाउँपालिका गत जेठ १२ गते नै पूर्ण खोप पालिका घोषणा भइसकेको थियो। सोही उपलब्धिलाई निरन्तरता दिँदै पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको मान्यता प्राप्त गर्न सफल भएको हो।
यस उपलब्धिका लागि गाउँपालिकाले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, अभिभावक, समुदाय तथा सहयोग र समन्वय गर्ने सम्पूर्ण सरोकारवाला निकायप्रति आभार व्यक्त गरेको छ।
खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनले बालबालिकाको स्वास्थ्य सुरक्षासँगै स्वस्थ, समृद्ध र रोगमुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।








