गौरादह । वर्षायाम सुरु भएसँगै झापाको गौरादह नगरपालिका–५ बालुबथान शनिश्चरे बजारदेखि कमल गाउँपालिका–७ झर्का हुँदै दमकको सेतुमारी जोड्ने रतुवा खोलाको पुलपूर्वस्थित सडक खण्डमा सवारी साधन फस्ने समस्या पुनः देखिन थालेको छ।



निरन्तर वर्षापछि सडक हिलाम्मे बनेसँगै दैनिक रूपमा मोटरसाइकल, अटो रिक्सा, कार तथा मालवाहक सवारी साधन आवतजावतमा कठिनाइ भोग्न बाध्य भएका छन्। कतिपय स्थानमा सवारी साधन सडकमै फस्ने गरेका छन् भने यात्रुहरू जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन्।
यातायात व्यवसायीहरूका अनुसार हरेक वर्ष वर्षायाम सुरु हुनासाथ उक्त सडक खण्डमा यस्तै समस्या दोहोरिने गरेको छ। सडकको स्तरोन्नति तथा उचित निकास व्यवस्थापन नहुँदा सामान्य वर्षामै सडक हिलाम्मे बन्ने र यातायात सेवा प्रभावित हुने गरेको उनीहरूको गुनासो छ।
स्थानीय बासिन्दाले पनि सडकको दुरावस्थाका कारण दैनिक जनजीवन प्रभावित भएको बताएका छन्। विद्यालय जाने विद्यार्थी, बिरामी तथा कृषिजन्य उत्पादन ओसारपसार गर्ने किसानहरू समेत समस्यामा परेका छन्।
स्थानीयवासी तथा सरोकारवालाहरूले गौरादह नगरपालिका, कमल गाउँपालिका तथा सम्बन्धित निकायलाई समस्या समाधानका लागि दीर्घकालीन योजना अघि बढाउन आग्रह गरेका छन्। वर्षेनी दोहोरिने समस्याको स्थायी समाधानका लागि सडक कालोपत्रे, ढल तथा पानी निकासको उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ।
स्थानीयले तत्काल सडक मर्मत गरी आवतजावत सहज बनाउनुका साथै दीर्घकालीन रूपमा सडक स्तरोन्नति गरेर यस क्षेत्रका नागरिकले वर्षेनी भोग्नुपर्ने सास्तीको अन्त्य गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।








