पथरी शनिश्चरेमा बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मोरङ । पथरी शनिश्चरे नगरपालिकाको समन्वयमा नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय तहमा बीमा सचेतना अभिवृद्धि तथा बीमा सेवाको प्रभावकारी कार्यान्वयनका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रम नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख तथा उपनिर्देशक प्रीति देवको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सचिन राईले बीमाको आवश्यकता, महत्व तथा वर्तमान अवस्थाबारे जानकारीमूलक प्रस्तुति दिनुभएको थियो। उहाँले बीमा प्रणालीले जोखिम न्यूनीकरण तथा आर्थिक सुरक्षामा पुर्‍याउने योगदानबारे प्रकाश पार्नुभयो।

छलफलका क्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो र वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेतले नगर तथा वडास्तरमा बीमा सम्बन्धी देखिएका समस्या, चुनौती तथा आवश्यक सुधारका विषयमा आ–आफ्ना धारणा राख्नुभयो।

त्यस्तै उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, कार्यपालिका सदस्य अञ्जना शिवा तथा विभिन्न बीमा कम्पनीका शाखा प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमको समापनमा कोशी प्रदेश प्रमुख प्रीति देवले सहभागीहरूले उठाएका जिज्ञासा तथा सुझावहरूको सम्बोधन गर्दै बीमा पहुँच विस्तार र जनचेतना अभिवृद्धिका लागि स्थानीय सरकारसँग सहकार्यलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय