दमक । झापाको दमक–८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको मृत्यु प्रकरणबारे सत्यतथ्य अझै सार्वजनिक हुन नसकेको अवस्थामा उनकी आमाले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न माग गरेकी छन्।
जेठ १३ गते राति करिब साढे ९ बजे घरबाट निस्किएकी रमाको शव दुई दिनपछि, जेठ १५ गते, रतुवा खोलाको पुलमुनि बोराभित्र फेला परेको थियो। शव परीक्षणका लागि धरान पठाइएको थियो। सोमबार शव परिवारलाई बुझाइएपछि बेलडाँगी क्षेत्रमा इसाई परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।



मृतककी आमा मुना तिवारीले छोरीको हत्या भएको दाबी गर्दै घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी यथाशीघ्र सार्वजनिक गर्न र कानुनी कारबाही गर्न माग गरेकी छन्।
पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्, “मलाई अरू केही चाहिँदैन, मेरी छोरी मार्ने मान्छे खोजी हुनुपर्यो, कारबाही हुनुपर्यो।”
उनका अनुसार रमाको एक युवकसँग पति–पत्नीसरह नजिकको सम्बन्ध रहेको थियो। घरबाट निस्किनुअघि पनि छोरीले उक्त युवकसँग विवाहको तयारी तथा इन्गेजमेन्ट गर्ने विषयमा कुरा गरेको बताएकी थिइन्। तर युवकका परिवारका केही सदस्यहरूले उनीहरूको सम्बन्ध स्वीकार नगर्ने गरेको पनि उनले उल्लेख गरिन्।
यता प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ। घटनाको वास्तविक कारण, मृत्युको प्रकृति तथा सम्भावित संलग्न व्यक्तिबारे आधिकारिक जानकारी भने हालसम्म सार्वजनिक गरिएको छैन।
परिवार र स्थानीयवासीले निष्पक्ष तथा प्रभावकारी अनुसन्धानमार्फत सत्य तथ्य बाहिर ल्याई दोषीलाई कानुनको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्।









