गौरादह, झापा | गौरादह उद्योग वाणिज्य संघको आगामी २०८३ जेठ ९ गते हुने निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल दिनप्रतिदिन तात्दै गएको छ। यही क्रममा खुल्ला सदस्य पदका उम्मेदवार सुवास श्रेष्ठ यतिबेला व्यवसायीमाझ चर्चित उम्मेदवारका रूपमा उदाइरहेका छन्।
“सक्षम युवा, सबल नेतृत्व” भन्ने मूल नाराका साथ चुनावी मैदानमा होमिएका श्रेष्ठले व्यवसायीहरूको हकहित संरक्षण, बजार व्यवस्थापन, पारदर्शी संस्था निर्माण तथा व्यवसायमैत्री वातावरण सिर्जनालाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन्।



गौरादह–२ निवासी श्रेष्ठ स्थानीय स्तरमा शिक्षित, शालीन र अनुभवी युवा व्यवसायीका रूपमा परिचित छन्। बाल्यकालदेखि नै गौरादहमै हुर्किएका उनले बाणिज्य शास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन्। बाणिज्य विषयमै उच्च शिक्षा हासिल गरेका श्रेष्ठसँग बैंकिङ क्षेत्रमा झण्डै १३ वर्षको अनुभव रहेको छ।
पेशागत यात्राको क्रममा उनले गौरादहस्थित एनआईसी एशिया बैंक शाखाको प्रबन्धकको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरिसकेका छन्। बैंकिङ क्षेत्रको लामो अनुभवले आफूलाई नेतृत्व, व्यवस्थापन र संस्थागत सञ्चालनमा परिपक्व बनाएको श्रेष्ठको भनाइ छ।
उनी गौरादहमा लामो समयदेखि सञ्चालन हुँदै आएको “श्रेष्ठ किराना पसल” का सञ्चालक टीका श्रेष्ठका सुपुत्र हुन्। हाल सुवास श्रेष्ठले कोकाकोला कम्पनीको गौरादहस्थित आधिकारिक बिक्रेता (डिलर) का रूपमा व्यवसाय सञ्चालन गर्दै आएका छन्।
स्थानीय व्यवसायीहरूबीच सहकार्य, एकता र पारदर्शितामार्फत उद्योग वाणिज्य संघलाई अझ प्रभावकारी र व्यवसायीमुखी संस्था बनाउन सकिने विश्वास श्रेष्ठले व्यक्त गरेका छन्।
आसन्न निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार श्रेष्ठ अहिले घरदैलो, भेटघाट तथा प्रचार–प्रसार अभियानमा सक्रिय रूपमा जुटिरहेका छन्। उनले गौरादह उद्योग वाणिज्य संघमा आबद्ध सम्पूर्ण मतदातासँग सहयोग, सद्भाव र अमूल्य मतको अपेक्षा गरेका छन्।









