गौरादह । गौरादह उद्योग वाणिज्य संघको आगामी कार्यसमिति चयनका लागि हुने निर्वाचनमा उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।
निर्वाचन समिति ले शुक्रबार सूचना जारी गर्दै आगामी जेठ ९ गते हुने निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको हो।



निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डिल्लीराम अधिकारीद्वारा जारी सूचनाअनुसार सार्वजनिक नामावलीउपर कुनै दाबी–विरोध भए तोकिएको समयभित्र निर्वाचन समितिसमक्ष निवेदन दिन सकिने व्यवस्था गरिएको छ।
सार्वजनिक प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा इश्वर कुमार खत्री (अधिकारी), दिल बहादुर अधिकारी (खत्री) र प्रकाश बास्कोटाबीच प्रतिस्पर्धा हुने भएको छ।
त्यसैगरी प्रथम उपाध्यक्ष पदमा तारा कुमार श्रेष्ठ र भानु सुवेदी, द्वितीय उपाध्यक्ष पदमा अनिश कार्की र मात्रीका भट्टराई तथा तृतीय उपाध्यक्ष पदमा प्रेम बहादुर बस्नेत र सरद कुमार थापाले उम्मेदवारी दिएका छन्।
महासचिव पदमा परमेश्वर शाह र हरिचन्द्र अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ भने कोषाध्यक्ष पदका लागि दीपक कुमार उप्रेती र दुर्गा प्रसाद शाह चुनावी मैदानमा उत्रिएका छन्।
सदस्य (खुला) तर्फ कृष्ण शर्मा, किर्तेन्द्र ढुंगाना, देव बहादुर कडुवाल, ध्रुव गिरी, प्रेम घिमाल, भक्ति प्रसाद ढुंगाना, मोहन बराइली, युवराज बास्तोला, लक्ष्मी प्रसाद उप्रेती, लिलामणी घिमिरे, लोकनाथ आचार्य (लोकेन्द्र), सुपेन्द्र शाह र सुभाष श्रेष्ठ उम्मेदवार बनेका छन्।
यस्तै सदस्य (महिला) तर्फ निर्मला बास्कोटा, विनिता देवी भण्डारी, मुना पोख्रेल र मेनुका पोख्रेलले उम्मेदवारी दर्ता गराएका छन्।
आसन्न निर्वाचनमा कुल ६ सय ४४ मतदाताले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ। उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनसँगै स्थानीय व्यवसायिक वातावरण, व्यापारी हित संरक्षण तथा संघको भावी कार्यदिशा निर्धारण हुने भएकाले निर्वाचनलाई व्यवसायीहरूले विशेष चासोका साथ हेरिरहेका छन्।
निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले व्यवसायिक विकास, संघको प्रभावकारी नेतृत्व र व्यापारीका समस्या समाधानलाई मुख्य एजेन्डा बनाउँदै चुनावी अभियानलाई तीव्रता दिएका छन्।










