कमल–५ सिम्लेमा स्वास्थ्य सेवा सुदृढीकरण अभियान : गुणस्तरीय सेवा विस्तारतर्फ महत्वपूर्ण कदम

कमल । कमल गाउँपालिका वडा नम्बर ५ स्थित सामुदायिक स्वास्थ्य इकाई (सिम्ले) मा स्वास्थ्य सेवा सुदृढीकरण तथा गुणस्तरीय सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले महत्वपूर्ण अभिमुखीकरण, समीक्षा तथा कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न गरिएको छ।

स्थानीय तहको आधारभूत स्वास्थ्य सेवालाई अझ व्यवस्थित, उत्तरदायी र नागरिकमैत्री बनाउने लक्ष्यसहित आयोजित कार्यक्रमले स्वास्थ्य संस्थाको संस्थागत क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

स्वास्थ्य संस्थामा लागू गरिँदै आएको न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) को प्रभावकारी कार्यान्वयन, सेवा मूल्याङ्कन तथा आगामी सुधार योजनालाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य सेवाको वर्तमान अवस्था, चुनौती, उपलब्धि र सुधारका सम्भावित पक्षहरूमाथि विस्तृत छलफल गरिएको थियो।

कार्यक्रम कमल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लाल बहादुर विष्ट (एल.वि. विष्ट) को अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष विष्टले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै स्वास्थ्य संस्था केवल उपचार केन्द्र मात्र नभई समुदायको भरोसाको आधार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकार नागरिकको स्वास्थ्य अधिकारप्रति संवेदनशील रहेको उल्लेख गर्दै स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा सुनिश्चित गर्न आवश्यक सहयोग र समन्वय निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम सञ्चालन सी.अ.हे.व अधिकृत तथा सामुदायिक स्वास्थ्य इकाई कमल–५ सिम्लेका प्रमुख डम्बर बहादुर श्रेष्ठ ले गर्नुभएको थियो। कार्यक्रममा सामुदायिक स्वास्थ्य इकाई सिम्ले सन्चालन तथा व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहाल, जनस्वास्थ्य निरीक्षक देवराज पराजुली, आधारभूत स्वास्थ्य सेवा केन्द्र कमल–५ का प्रमुख बिमला राई, अ.न.मि. अनिता अधिकारी, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा अघिल्लो आर्थिक वर्षमा स्वास्थ्य संस्थाले प्राप्त गरेको न्यूनतम सेवा मापदण्डको मूल्याङ्कनको समीक्षा गरिएको थियो। साथै चालु आर्थिक वर्षको प्रगति विवरण, सेवा सूचक, सेवा उपलब्धता, व्यवस्थापन पक्ष तथा सेवा प्रभावकारिताको तुलनात्मक विश्लेषण समेत प्रस्तुत गरिएको थियो।

छलफलका क्रममा स्वास्थ्य संस्थामा सेवा प्रवाहलाई अझ सहज, छिटोछरितो र प्रभावकारी बनाउन आवश्यक सुधारका विषयमा सहभागीहरूले आफ्ना धारणा राखेका थिए। औषधि व्यवस्थापन, अभिलेखीकरण प्रणाली, सरसफाइ, सेवाग्राहीमैत्री व्यवहार, मातृ तथा बाल स्वास्थ्य सेवा, नियमित स्वास्थ्य परामर्श, समुदायस्तरको जनचेतना अभिवृद्धि लगायतका विषयलाई प्राथमिकतामा राखेर आगामी कार्ययोजना तयार गरिएको बताइएको छ।

कार्यक्रममा कमल ५ का वडा अध्यक्ष तथा सामुदायिक स्वास्थ्य इकाई ( सिम्ले) सन्चालन तथा व्यवस्थापन समिति का अध्यक्ष लाल बहादुर बिस्ट ( एल बि बिश्ट) ले स्थानीय तहमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न न्यूनतम सेवा मापदण्ड अत्यन्त महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले स्वास्थ्य संस्थाको भौतिक तथा व्यवस्थापकीय सुधारसँगै सेवा दिने जनशक्तिको जिम्मेवारी, उत्तरदायित्व र सेवामैत्री व्यवहारलाई समेत सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

त्यसैगरी कार्यपालिका सदस्य तथा सामुदायिक स्वास्थ्य इकाई ( सिम्ले) सन्चालन तथा व्यवस्थापन समितिको उपाध्यक्ष चन्द्रकला सुब्बाले स्वास्थ्य संस्थाको समग्र सेवा मूल्याङ्कन केवल कागजी प्रक्रिया नभई सेवाको वास्तविक अवस्था सुधार गर्ने आधार भएको बताउँदै नियमित समीक्षा, अनुगमन र कार्ययोजना कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

अन्य सहभागी स्थानीय जनप्रतिनिधिहरूले समेत समुदायस्तरमा स्वास्थ्य सेवा विस्तार, रोगको समयमै पहिचान, रोकथाम तथा जनस्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजान सामूहिक सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रमबाट स्वास्थ्य संस्थाको सेवा गुणस्तर अभिवृद्धि, व्यवस्थापन प्रणाली सुदृढीकरण, स्वास्थ्यकर्मीको कार्यसम्पादन सुधार तथा सेवाग्राहीको विश्वास बढाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ। साथै समुदायमा स्वास्थ्य सचेतना वृद्धि गर्दै स्थानीय तहको स्वास्थ्य प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउने दिशामा कार्यक्रम फलदायी बन्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय