आदिवासी रङ्गशाला निर्माण अघि बढाउन प्रधानमन्त्री समक्ष प्रस्ताव पेश

झापा। झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको स्तरोन्नति तथा पूर्ण निर्माणका लागि संघीय सरकारसँग बजेट माग गरिएको छ। साथै रङ्गशालाको भोगाधिकारसमेत माग गरिएको जनाइएको छ।

गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले प्रधानमन्त्रीका सचिवालय सदस्य नबिन भण्डारीमार्फत सम्माननीय प्रधानमन्त्री समक्ष रङ्गशालाको भोगाधिकार, विस्तृत परियोजना प्रतिवेदन (DPR) स्वीकृति तथा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजनको औपचारिक प्रस्ताव पेश गरिएको जानकारी दिएका छन्।

अध्यक्ष राईका अनुसार तत्कालीन खेलकुद मन्त्री डिगबहादुर लिम्बुको पहलमा विनियोजन गरिएको १ करोड रुपैयाँ बजेटबाट हालसम्म करिब ३५० मिटर ईँटाको पर्खाल निर्माण कार्य सम्पन्न भइसकेको छ।

रङ्गशालाको निर्माण कार्य पूर्ण भएमा पूर्व–पश्चिम लोकमार्गसँग प्रत्यक्ष पहुँच हुने भएकाले यसलाई कोशी प्रदेशकै एक प्रमुख तथा सुविधासम्पन्न खेल पूर्वाधारका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरिएको छ।

उनका अनुसार उक्त परियोजनाले खेलकुद विकाससँगै पर्यटन प्रवर्द्धन, स्थानीय आर्थिक गतिविधि विस्तार तथा युवालाई खेलकुदतर्फ आकर्षित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय