क्यान काभ्रे शाखाद्वारा डिजिटल मार्केटिङ तथा क्रियटिभिटी प्रशिक्षण सम्पन्न

पनौती — कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ काभ्रे शाखाले “सूचना प्रविधिको विस्तार : दिगो विकासको आधार” भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ को अवसरमा “Digital Marketing and Creativity” विषयक प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थामा आयोजना गरिएको उक्त कार्यक्रम क्यान काभ्रे शाखाको आयोजना तथा सहकारी संस्थाको सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि क्यान महासङ्घका केन्द्रीय उपाध्यक्ष शेखरनाथ दुलालले डिजिटल युगसँगै प्रविधिको बढ्दो प्रयोग, डिजिटल साक्षरता र बजार विस्तारका लागि डिजिटल मार्केटिङको महत्वपूर्ण भूमिका रहेको बताए। उनले वर्तमान पुस्ता अनलाइन माध्यमतर्फ आकर्षित हुँदै गएको उल्लेख गर्दै व्यवसाय प्रवर्द्धनका लागि डिजिटल प्लेटफर्म अपरिहार्य बन्दै गएको धारणा व्यक्त गरे।

त्यसैगरी, ज्योति मिर्मिरे सहकारीका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले डिजिटल सीप आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता तालिमहरूले उद्यमशीलता विकास र व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले सहकारीमार्फत यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाए।

कार्यक्रमका प्रशिक्षक तथा क्यान काभ्रे शाखाका सचिव केवल प्रसाद तिमल्सिना (राजकुमार) ले करिब ३० भन्दा बढी सहभागीहरूलाई डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, कन्टेन्ट निर्माण तथा डिजिटल ब्रान्डिङसम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरे।

उक्त कार्यक्रममा सहकारीका अध्यक्ष (विशिष्ट अतिथि), क्यान महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष विकास पन्त, सहकारीका कर्मचारी, क्यानका पदाधिकारी, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका सभापति तथा क्यान काभ्रेका अध्यक्ष देवकी आचार्य दुलालले डिजिटल युगमा सीपमूलक तालिमको आवश्यकता झन् बढ्दै गएको बताउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। कार्यक्रम सञ्चालन पुरुषोत्तम दाहालले गरेका थिए।

सहभागीहरूले प्रशिक्षणबाट प्राप्त ज्ञान दैनिक जीवन तथा व्यवसायिक गतिविधिमा उपयोगी हुने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय