अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई वार्ताको टेबलमा फिर्ता ल्याउन र आणविक कार्यक्रममा आफ्ना सर्तहरू मान्न बाध्य पार्ने उद्देश्यले आर्थिक दबाबलाई तीव्र बनाएका छन् । यसै रणनीतिको एक हिस्सा स्वरूप राष्ट्रपतिले इरानी बन्दरगाहहरूमा अमेरिकी नौसैनिक नाकाबन्दी जारी राख्ने र हर्मुज जलमार्गलाई दीर्घकालीन रूपमा बन्द गराउनेसम्मको आधार तयार गर्न आफ्ना शीर्ष सल्लाहकारहरूलाई निर्देशन दिएका हुन्।
सैन्य हमलाहरूको साटो आर्थिक नाकाबन्दीलाई प्राथमिकता दिँदै ट्रम्पले तेहरानलाई सम्झौताका लागि तयार पार्न अधिकतम आर्थिक पीडा दिने रणनीति अख्तियार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । उनले इरानको हालको अवस्थालाई ‘निसास्सिएको’ संज्ञा दिँदै अमेरिकासँग वार्ताका लागि सबै बलिया आधारहरू रहेको दाबी गरे।



यो रणनीति ट्रम्पका लागि राजनीतिक र आर्थिक रूपमा जोखिममुक्त भने देखिएको छैन । इरानसँगको द्वन्द्व नवौं हप्तामा प्रवेश गरिसक्दा पनि ठोस निकास निस्कन सकेको छैन, जबकि ट्रम्पले यसअघि यो द्वन्द्व छ हप्ताभन्दा बढी नजाने भविष्यवाणी गरेका थिए ।
जलमार्गको अवरोधका कारण विश्वव्यापी रूपमा ग्यासको मूल्य प्रति ग्यालन ४ डलर नाघेको छ, जसले अमेरिकी उपभोक्ताहरूमा असन्तुष्टि बढाएको छ । पेन्टागनका अनुसार यो द्वन्द्वमा अमेरिकाले हालसम्म २५ अर्ब डलर खर्च गरिसकेको छ, जसले आगामी नोभेम्बरको चुनावमा रिपब्लिकन पार्टीको सम्भावनालाई लिएर चिन्ता बढाएको छ ।
ट्रम्पले यो द्वन्द्वलाई युक्रेन युद्धजस्तै लामो समयसम्म जान सक्ने संकेत गरे पनि अमेरिकी गुप्तचर निकायहरूले भने नाकाबन्दीका कारण इरानी अर्थतन्त्र पतनको संघारमा रहेको र केही दिनमै घुँडा टेक्ने विश्लेषण गरिरहेका छन् ।
इरानले हालै पेस गरेको जलमार्ग पुनः खोल्नेसम्बन्धी प्रस्तावलाई राष्ट्रपति ट्रम्पले अस्वीकार गर्ने संकेत दिएका छन् । उक्त प्रस्तावमा इरानको आणविक संवर्धन र युरेनियम भण्डारणको विषयमा स्पष्टता नभएको अमेरिकी अधिकारीहरूको भनाइ छ ।
विदेश सचिव मार्को रुबियोले इरानी प्रस्ताव सकारात्मक देखिए पनि आणविक हतियार प्राप्त गर्नबाट रोक्ने ग्यारेन्टी नभएसम्म सम्झौता हुन नसक्ने प्रस्ट पारेका छन् ।
ह्वाइट हाउसमा हालै सम्पन्न ऊर्जा कार्यकारीहरू र शीर्ष अधिकारीहरूको बैठकमा नाकाबन्दीलाई महिनौंसम्म लम्ब्याउन सकिने उपायहरू र अमेरिकी बजारमा इन्धनको मूल्य सन्तुलन गर्ने विषयमा छलफल भएको छ । उक्त बैठकमा उपराष्ट्रपति जेडी भान्स, ट्रेजरी सेक्रेटरी स्कट बेसेन्ट र जेरेड कुशनर लगायतको उपस्थिति रहेको थियो ।
सैन्य विकल्पको तुलनामा नाकाबन्दीलाई ‘प्रतिभाशाली’ कदम मान्ने ट्रम्पले निजी रूपमा थप बमबारी वा प्रत्यक्ष युद्धको जोखिम मोल्न नचाहेको बुझिएको छ । उनले इरानले हार नमानेसम्म दबाब जारी राख्ने दृढता व्यक्त गरेका छन् ।
यद्यपि, उनले सामाजिक सञ्जालमा एआई निर्मित हतियारधारी तस्वीर पोस्ट गर्दै चेतावनीको भाषा पनि प्रयोग गरिरहेका छन् । इरानको नेतृत्व तहमा देखिएको विभाजन र सर्वोच्च नेता मोज्तबा खामेनीको सार्वजनिक अनुपस्थितिबीच अमेरिकाले आफ्नो लाभको स्थिति सुरक्षित राख्न खोजेको छ । ट्रम्प प्रशासन अहिले इरानको तर्फबाट परिमार्जित र अझ ठोस प्रस्तावको पर्खाइमा छ, जसले कम्तीमा आणविक प्रश्नलाई सम्बोधन गर्न सकोस् ।










