कमल — राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत तालिम तथा अभिमुखिकरण कार्यक्रम आजदेखि कमल गाउँपालिकामा औपचारिक रूपमा सुरु भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख उपस्थितिमा उद्घाटन गरिएको हो।
बालबालिकाको पोषण अवस्था सुधार, कुपोषण न्यूनीकरण तथा समग्र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा पोषणसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष तिवारीले पोषणलाई मानव विकासको आधारभूत स्तम्भको रूपमा व्याख्या गर्दै स्थानीय तहबाट सञ्चालन हुने यस्ता कार्यक्रमहरूले दिगो स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले विशेषगरी बालबालिका, गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्थालाई प्राथमिकतामा राख्दै समुदायसम्म प्रभावकारी सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विष्वनाथ श्रेष्ठले प्रशिक्षक तथा सहजकर्ताको रूपमा सहजीकरण गरिरहनु भएको छ। उहाँले कुपोषणको पहिचान, वर्गीकरण, उपचार व्यवस्थापन, पोषण परामर्श, अभिलेख व्यवस्थापन तथा रिपोर्टिङ प्रणालीका विषयमा सहभागीहरूलाई व्यवहारिक ज्ञान प्रदान गरिरहनु भएको छ।
कार्यक्रमको सञ्चालन गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखद्वारा गरिएको हो। तालिम कार्यक्रम भोलिसम्म सञ्चालन हुने जनाइएको छ।
यसैबीच, आगामी बैशाख १५ गतेदेखि ३० गतेसम्म कमल गाउँपालिकाभर समुदायस्तरमा पोषण लेखाजोखा (Nutrition Assessment/Screening) कार्यक्रम सञ्चालन गरिने भएको छ।
अभियानअन्तर्गत घरदैलो तथा स्वास्थ्य संस्थामार्फत बालबालिकाको तौल, उचाइ तथा उमेरअनुसारको पोषण अवस्था मूल्याङ्कन गरिनेछ। कुपोषणको जोखिममा रहेका बालबालिकाको पहिचान गरी आवश्यक परामर्श, उपचार तथा अनुगमन प्रक्रिया अघि बढाइने स्वास्थ्य शाखाले जनाएको छ।
कमल गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भइरहेको यस कार्यक्रमले आगामी दिनहरूमा पोषण सुधार अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएकोछ।




