भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा कमल गाउँपालिकामा राष्ट्रिय शोक

कमल, झापा । रसुवास्थित भोटेकोशी नदीमा यहि भदौ १० गते आएको भीषण बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा आज देशभर राष्ट्रिय शोक मनाइएको छ।

सरकारको निर्णयअनुसार घटनाको १३औँ दिनको पुण्यतिथिका अवसरमा देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाएर मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो।

सोही क्रममा कमल गाउँपालिकामा पनि राष्ट्रिय झण्डा आधा झुकाई शोक मनाइएको छ। गाउँपालिका परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालसहित जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्ष राईले भोटेकोशी बाढीमा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा मृतात्माको चिरशान्ति तथा बैकुण्ठ बासको कामना गर्नुभयो। उहाँले शोकसन्तप्त परिवारलाई यस दुःखद् घडीमा धैर्यधारण गर्न आग्रह गर्नुभयो।

अध्यक्ष राईले विपत्तिबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई यथाशीघ्र र तीव्र गतिमा अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो। विपत्तिको समयमा सरकारले स्वतन्त्र रूपमा उद्धार तथा राहतका काम अघि बढाउनुपर्ने र त्यस कार्यमा सबैले सहयोग गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ।

उहाँले अहिले विवाद गर्ने समय नभएको उल्लेख गर्दै “जसले जहाँ, जसरी, जुन बल, तागत, सामर्थ्य र विवेकले भ्याउँछ, त्यहीअनुसार सहयोग गर्नुपर्छ” भन्नुभयो।

विपद् प्रभावितका लागि संकलन हुने आर्थिक सहयोगलाई प्रभावकारी र पारदर्शी रूपमा परिचालन गर्न एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्नुपर्नेमा समेत अध्यक्ष राईले जोड दिनुभयो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय