बिर्तामोड । झापा दमककी दन्त चिकित्सक डा. सोफिया थुलुङ राई झापाको बिर्तामोडमा सम्मानित भएकी छन्।
किरात राई यायोक्खा झापाले आफ्नो नवौँ जिल्ला अधिवेशन उद्घाटनका अवसरमा शनिबार चिकित्सा, शिक्षा, समाजसेवा लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका १० जना अग्रज व्यक्तित्वलाई सम्मान गरेको हो।



चिकित्सा क्षेत्रमा सक्रिय रहँदै किरात राई समुदायको प्रतिष्ठा उच्च बनाउन योगदान पुर्याएको भन्दै डा. थुलुङलाई सम्मान गरिएको यायोक्खाले जनाएको छ। उनी दमकस्थित थुलुङ डेन्टलकी सञ्चालिका समेत हुन्।
डा. सोफिया स्वर्गीय डा. सहदेव थुलुङकी सुपुत्री हुन्। उनले दन्त चिकित्सा क्षेत्रमा सक्रिय रहँदै आफ्नो पेशागत योगदानसँगै समुदायमा समेत उल्लेखनीय पहिचान बनाएकी छन्।
किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईको प्रमुख आतिथ्य तथा यायोक्खा झापाका अध्यक्ष गणेशबहादुर राईको सभापतित्वमा अधिवेशन उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा यायोक्खा कोशी प्रदेश अध्यक्ष पारसमणि राई, राजनीतिक दलका तर्फबाट मणिकुमार साम्पाङ राई ‘विजय’, सल्लाहकारका तर्फबाट दिलिप राई, नेपाल आदिवासी जनजाति महासंघ झापाका पूर्वअध्यक्ष प्रेम घिसिङ, किरात याक्थुम चुम्लुङका अध्यक्ष सेसेहाङ फियाकलगायतले शुभकामना मन्तव्य राखेका थिए।










