रसुवा/नुवाकोट — रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा व्यवस्थापनका लागि संघीय र स्थानीय सरकारको समन्वयमा रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ।
आइतबार मात्रै ती आश्रयस्थल तथा राहत केन्द्रबाट ३ हजार ४५४ जना प्रभावित नागरिकले अस्थायी आश्रय तथा राहत सेवा प्राप्त गरेका छन्। नुवाकोटमा १६ वटा आश्रयस्थल तथा शिविरमार्फत २ हजार २७४ जनालाई व्यवस्थापन गरिएको छ भने रसुवाका १० वटा अस्थायी आश्रयस्थलमा १ हजार १८० जना प्रभावितले आश्रय लिएका छन्।



नुवाकोटको विदुर नगरपालिका क्षेत्रमा तुप्चेका प्रभावितलाई पुस्तकालय शिविर, त्रिशुली–ढुंगे र सिमचौर क्षेत्रका प्रभावितलाई सेफहाउस तथा किरियापुत्री भवन, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कवर्ड हल र देविघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ।
त्यस्तै, बेत्रावती–भैँसे क्षेत्रका प्रभावितलाई सुन्दरी कैरिनी माध्यमिक विद्यालय, त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलनी कवर्ड हल तथा भैरुम माध्यमिक विद्यालय, रिमालडाँडा र इन्द्रायणी आवासीय विद्यालयमा सञ्चालित शिविरमा व्यवस्थापन गरिएको छ।
विदुर–३ देविघाट–सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी माध्यमिक विद्यालय तथा वडा कार्यालयमा राखिएको छ। विदुर–९ का प्रभावितलाई त्रिशुली आवि र शुलक्षणा माध्यमिक विद्यालयमा आश्रय दिइएको छ।
बेलकोटगढीको रातमाटे–जिलिङ क्षेत्रका प्रभावितलाई महादेव माध्यमिक विद्यालय, किस्पाङ गाउँपालिका–५ का प्रभावितलाई कार्की मनकामना आवि र त्रिभुवन माध्यमिक विद्यालय तथा रसुवाका केही प्रभावितलाई बट्टारस्थित तामाङ प्लाजामा व्यवस्थापन गरिएको छ।
उद्धार गरिएका घाइतेको उपचारका लागि विदुर–२ को सेफहाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी–७ को महादेव माध्यमिक विद्यालय र विदुर–९ को शुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोली परिचालन गरिएको छ।
रसुवामा १० आश्रयस्थलमा १ हजार १८० प्रभावित
बाढी प्रभावित रसुवामा पनि उद्धार तथा राहत वितरणलाई तीव्रता दिइएको छ। आइतबार मात्रै जिल्लाका १० वटा अस्थायी आश्रयस्थलमा १ हजार १८० जना प्रभावित नागरिकले आश्रय लिएका छन्।
स्थानीय तहसँगको समन्वयमा उत्तरगया गाउँपालिका–२ को डाँडागाउँ तथा आमाछोदिङ्मो गाउँपालिकाका हाकु, पाङलिङ र ग्रेमा आश्रयस्थल सञ्चालनमा छन्।
गोसाइँकुण्ड गाउँपालिका–१, २, ३ र ५ अन्तर्गत थुमन, दालफेदी, खैदी, बृद्धिम, लिङलिङ र स्याफ्रुबेँसीमा पनि अस्थायी आश्रयस्थल सञ्चालनमा ल्याइएको छ।
सम्बन्धित निकायका अनुसार राहत सामग्री पुग्न नसकेको स्थान नरहेको र भौगोलिक विकटताका कारण अधिकांश दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्याउने काम भइरहेको छ।
विभिन्न स्थानमा स्वास्थ्य टोली परिचालन
बाढी प्रभावित नागरिकको उपचारका लागि रसुवामा विभिन्न स्वास्थ्य टोली परिचालन गरिएको छ। धुन्चेस्थित रसुवा जिल्ला अस्पताल, स्याफ्रुबेँसीमा वीर अस्पतालको टोली, हेलिक्षेत्रमा प्रादेशिक अस्पतालको टोली तथा रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी सक्रिय छन्। हेलिक्षेत्रमा नेपाली सेनाको स्वास्थ्य टोलीसमेत उपचार सेवामा खटिएको छ।
बाढीबाट थप क्षति हुन नदिन तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्दै राहत, औषधि र उपचार सेवा पुर्याउन स्थानीय प्रशासन तथा सुरक्षा निकायहरू उच्च सतर्कताका साथ परिचालित भइरहेका छन्।










