काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता भएको छ। बनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा भएको भेटवार्तामा पछिल्लो विपद्, उद्धार तथा राहत व्यवस्थापन र तीन तहका सरकारबीचको समन्वयका विषयमा छलफल भएको हो।
भेटमा मुख्यमन्त्री थापाले तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा प्रदेश सरकारले आफ्नै ढंगले काम गर्नुपर्ने अवस्था रहेको बताए। प्रधानमन्त्री प्रभावित क्षेत्रमा पुग्दा समेत प्रदेश सरकारलाई त्यसबारे जानकारी नदिइएको भन्दै उनले दुःख व्यक्त गरे।



विपद्का बेला संघ, प्रदेश र स्थानीय तहले गर्ने काम स्पष्ट रूपमा छुट्याउन आवश्यक रहेको मुख्यमन्त्री थापाको भनाइ थियो। प्रभावित क्षेत्रमा राहत सामग्री पठाउन कठिनाइ भइरहेको उल्लेख गर्दै उनले पठाइएको राहतसमेत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथिल्लो प्रभावित क्षेत्रमा पुर्याउन असहज भइरहेको जानकारी दिए।
जलवायु परिवर्तनको असर दीर्घकालीन हुने भएकाले खोला तथा नदी किनारमा रहेका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तीनै तहका सरकारले तत्काल समन्वयकारी ढंगबाट काम गर्नुपर्नेमा पनि मुख्यमन्त्री थापाले जोड दिए।
भेटमा रास्वपा सभापति लामिछानेले विपद्को समयमा स्थानीय र संघीय सरकारलाई जोड्ने महत्वपूर्ण भूमिका प्रदेश सरकारले खेल्नुपर्ने बताए। विपद्को अवस्थामा सबै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्ने विषयमा आफूहरू सचेत रहेको उनको भनाइ थियो।
लामिछानेले संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।










