काभ्रे । रसुवा, नुवाकोट र धादिङ जिल्लाका विभिन्न स्थानमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति रोशी गाउँपालिकाले दुःख व्यक्त गर्दै राहत तथा उद्धारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।



बाढीबाट प्रभावित क्षेत्रमा गाउँपालिकाका कुनै पनि नागरिक बेपत्ता वा अलपत्र परेको अवस्था भए तत्काल खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ।
राहत सहयोगस्वरूप गाउँपालिकाका जनप्रतिनिधिको सात दिन बराबरको सेवासुविधा तथा सम्पूर्ण कर्मचारी र शिक्षकको एक दिन बराबरको तलबबाट रकम संकलन गर्ने निर्णय गरिएको छ। साथै, गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट समेत रकम व्यवस्थापन गरी कुल १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता वसन्तकुमार तामाङले जानकारी दिएका छन्।
यस विपद्को समयमा सहयोगका लागि गाउँपालिकाले सम्बन्धित सबै पक्षलाई समेत आह्वान गरेको छ।











