धुलिखेल। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धुलिखेल लज रिसोर्टमा युवाको नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन तथा आतिथ्य क्षेत्रमा भविष्य निर्माणका सम्भावनाबारे विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बेलर इन्टरनेशनल एकेडेमी र युवा उद्यमी मञ्च काभ्रेको सहकार्यमा आयोजित कार्यक्रममा केयु ग्लेसियर विपिएचका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च काभ्रेका विशिष्ट अतिथि तथा प्यानल वक्ताहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्दै उद्यमशीलता, स्टार्टअपका अवसर, व्यवसाय सञ्चालनका चुनौती तथा उद्योग क्षेत्रमा उपलब्ध सम्भावनाबारे जानकारी गराएका थिए।



वक्ताहरूले युवाहरू परम्परागत करियर विकल्पमा मात्र सीमित नभई आफ्नै व्यवसाय तथा सिर्जनात्मक परियोजना सुरु गर्न सक्ने बताएका थिए। विशेषगरी आतिथ्य तथा पर्यटन क्षेत्र रोजगारीसँगै उद्यमशीलताको महत्वपूर्ण क्षेत्र बन्न सक्ने उल्लेख गर्दै होटल व्यवस्थापन, पर्यटन, फुड एन्ड बेभरेज, इभेन्ट म्यानेजमेन्ट तथा प्रविधिको प्रयोगमार्फत नयाँ अवसर सिर्जना गर्न सकिने धारणा राखिएको थियो।
विद्यार्थीहरूलाई बजारको आवश्यकता पहिचान गर्दै नवीन सोच, व्यावसायिक सीप र नेतृत्व क्षमता विकास गर्न सुझाव दिइएको थियो। कार्यक्रममा विद्यार्थीहरूले उद्यमी बन्ने अवसर, आतिथ्य उद्योगमा करियर निर्माणका सम्भावना तथा आफ्ना रुचि र सीपलाई व्यवसायमा रूपान्तरण गर्ने विषयमा जिज्ञासा राखेका थिए।
प्यानल वक्ताहरूले सफल उद्यमशीलताका लागि ज्ञानसँगै निरन्तर सिकाइ, जोखिम लिन सक्ने क्षमता, नेटवर्किङ, अनुशासन र व्यवहारिक अनुभव आवश्यक रहेको बताएका थिए।
अन्तर्राष्ट्रिय युवा दिवसलाई केवल उत्सवका रूपमा नभई युवाको क्षमता, सम्भावना र जिम्मेवारीबारे छलफल गर्ने अवसरका रूपमा प्रस्तुत गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै व्यवसाय तथा आतिथ्य क्षेत्रमा नयाँ काम गर्न प्रेरणा दिएको सहभागीहरूको भनाइ थियो।
विपिएच कार्यक्रम संयोजक अनुप विष्टका अनुसार कार्यक्रमले शिक्षा र व्यावसायिक क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ गर्दै विद्यार्थीलाई कक्षाकोठामा प्राप्त ज्ञानलाई व्यवहारिक क्षेत्रमा प्रयोग गरी भविष्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रोत्साहित गरेको छ।










