शान्ति, सद्भाव र सामाजिक एकताका लागि बनेपामा सद्भाव र्‍याली

बनेपा — शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले काभ्रे जेसिससहित १२ भन्दा बढी विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा आइतबार बनेपामा शान्ति तथा सद्भाव र्‍याली सम्पन्न भएको छ।

बनेपाको तीनदोबाटोबाट सुरु भएको र्‍याली प्राधिकरण चोक, तीनधारा हुँदै नेपाल रेडक्रस सोसाइटीको भवनअगाडि रहेको पोखरीसम्म पुगेको थियो। कार्यक्रममा दीप प्रज्वलन गर्नुका साथै शान्ति, सद्भाव र सामाजिक एकताप्रति प्रतिबद्धता व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै काभ्रे जेसिसका अध्यक्ष स्वरुप शाक्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भए पनि सबैभन्दा पहिले नेपाली र मानव भएको भावना आत्मसात गर्नुपर्नेमा जोड दिए। उनले विश्व बन्धुत्व र मानव कल्याणको भावनालाई सुदृढ बनाउन सद्भाव र्‍याली आयोजना गरिएको उल्लेख गर्दै सबै नेपाली एकताबद्ध भई सामाजिक सद्भाव कायम राख्न आवश्यक रहेको बताए।

र्‍यालीमा सहभागी मोहम्मद उसिक्देजाले समाजमा हुने धार्मिक तथा जातीय द्वन्द्वको प्रमुख कारण अशिक्षा रहेको धारणा व्यक्त गरे। उनले शिक्षाको अभावले मानिसहरूलाई भ्रम, द्वेष र हिंसातर्फ उन्मुख गराउने भएकाले जनचेतना अभिवृद्धि आवश्यक रहेको बताए। सामाजिक सञ्जाल वा अफवाहको पछि नलागी आपसी सम्मान, सहिष्णुता र संवादमार्फत समाजमा शान्ति कायम गर्न सबैले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा विभिन्न सामाजिक, धार्मिक तथा युवा संघसंस्थाका प्रतिनिधि, स्थानीयवासी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले समाजमा आपसी विश्वास, सहिष्णुता र राष्ट्रिय एकता सुदृढ बनाउन यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय