काठमाडौं। आगामी असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘चमेलीको पोई’ को पहिलो गीत ‘ओइ ओइ चमेली तिम्रा सेरे खोइ’ सार्वजनिक गरिएको छ।
ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा गायक राजनराज शिवाकोटी र गायिका इन्दिरा जोशीको स्वर रहेको छ। गीतका शब्द चलचित्रका लेखक तथा निर्देशक एभरेस्ट सूर्य बोहराले लेखेका हुन् भने संगीत पनि राजनराज शिवाकोटीले नै भरेका छन्। संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन्।



सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी र विल्सन विक्रम राई आकर्षक नृत्य प्रस्तुतिसहित देखिएका छन्।
गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने सह–कोरियोग्राफर दावा तामाङ रहेकाछन्।
धनलक्ष्मी सिने मेक्स प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, प्रेमदेव गिरी, रवीन्द्र झा, गणेश गौतम, अंशु महर्जन, तारा शर्मा, रजनी गुरुङ, बाबिन राई, उमेश राई (फुलन्देको आमा), खड्का बहादुर पुन मगर (खबापु) लगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रको लेखन तथा निर्देशन एभरेस्ट सूर्य बोहराले गरेका छन्। पटकथा तथा संवाद एभरेस्ट सूर्य बोहरा र शिवम् अधिकारीले संयुक्त रूपमा तयार गरेका हुन्। चलचित्रका निर्माता सुनिता सापकोटा र रामनारायण उपाध्याय हुन् भने कार्यकारी निर्मातामा उदय विक्रम राणा, ऋतु मल्ल ठाकुरी, सुमित्रा थापा र कपिल आचार्य रहेका छन्।
शेरबहादुर तामाङको छायांकन, बन्दे प्रसादको सम्पादन, साहस शाक्यको पृष्ठभूमि संगीत तथा कुमार महर्जनको एक्सन रहेको चलचित्र आरआर फिल्म्सले वितरण गर्दैछ।
निर्माण पक्षका अनुसार सार्वजनिक गीतले चलचित्रप्रति दर्शकमाझ उत्सुकता बढाउने अपेक्षा गरिएको छ। पारिवारिक, हास्य र मनोरञ्जनप्रधान कथावस्तुमा आधारित ‘चमेलीको पोई’ आगामी असोज १६ गते (अक्टोबर २) देखि देशभर प्रदर्शनमा आउनेछ।








