हात्तीपाइले रोग उन्मूलन अभियान प्रभावकारी बनाउन कमलमा वडा–स्तरीय समन्वय बैठक

दमक, साउन १ — हात्तीपाइले रोगविरुद्ध सञ्चालन गरिएको आम औषधि सेवन अभियानपश्चात् गरिने IDA Impact Survey-I (IIS-I) लाई प्रभावकारी, व्यवस्थित र सफल बनाउन कमल गाउँपालिकामा वडा–स्तरीय समन्वय बैठक सम्पन्न भएको छ।

स्वास्थ्य कार्यालय झापाको समन्वय तथा फेयरमेड साहारा नेपालको सहयोगमा बिहीबार कमल गाउँपालिकाको वडा नं. २, ४ र ५ मा छुट्टाछुट्टै समन्वय बैठक आयोजना गरिएको हो। बैठकमा वडा अध्यक्ष, वडा सदस्य, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी, सुरक्षा निकायका प्रतिनिधि, वडा सचिव तथा महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका कार्यक्रम फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक विष्णनाथ श्रेष्ठले IDA Impact Survey-I को उद्देश्य, कार्यविधि, नमुना संकलन प्रक्रिया तथा स्थानीय तहको भूमिकाबारे प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो।

कमल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक दाहालले समन्वय बैठक सम्पन्न भएसँगै सम्बन्धित वडामा सर्वेक्षण टोली परिचालन गरी IDA Impact Survey-I सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँले सर्वेक्षणलाई सफल बनाउन सबै सरोकारवाला निकाय तथा स्थानीय समुदायको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो।

गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले हात्तीपाइले रोग उन्मूलन राष्ट्रिय अभियानलाई सफल बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षा निकाय तथा समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँका अनुसार IDA Impact Survey-I ले आम औषधि सेवन अभियानको प्रभावकारिता मूल्याङ्कन गर्ने भएकाले सबै पक्षले जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्ने आवश्यकता छ।

यसैबीच, गाउँपालिकाले शुक्रबार (साउन १) वडा नं. ६ र ७ मा पनि यस्तै समन्वय बैठक तथा सर्वेक्षणपूर्व तयारी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

कमल गाउँपालिकाले हात्तीपाइले रोग उन्मूलन अभियानलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला निकाय तथा आम नागरिकलाई सक्रिय सहभागिता र सहयोगका लागि आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय