काभ्रेपलाञ्चोक जिल्ला अदालतद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया, प्रविधिमैत्री न्याय सेवामा जोड

काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोक जिल्ला अदालतले जिल्लाका सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै अदालतको सेवा प्रवाह, न्याय सम्पादन तथा प्रविधिमैत्री सेवाका विषयमा जानकारी गराएको छ।

कार्यक्रममा अदालतका श्रेस्तेदार तथा उपसचिव सञ्जित गौतमले विभिन्न परिस्थितिका बाबजुद पनि अदालतले सेवाग्राहीलाई न्यायको अनुभूति हुने गरी छिटोछरितो, प्रभावकारी र प्रविधिमैत्री सेवा प्रवाहमा निरन्तर काम गरिरहेको बताए।

प्रमुख जिल्ला न्यायाधीश मातृका आचार्यले अदालतले नागरिकलाई सहज रूपमा न्याय उपलब्ध गराउन अपनाइएका प्रक्रिया, न्याय सम्पादनका विधि, अर्धन्यायिक निकायहरूको अनुगमन तथा सरोकारवाला निकायसँगको समन्वयबारे जानकारी गराए।

श्रेस्तेदार गौतमका अनुसार प्रविधिमैत्री अदालत निर्माणका लागि विभिन्न डिजिटल सेवा तथा प्रणाली कार्यान्वयनमा ल्याइएको छ। अदालत परिसरमा सेवाग्राहीका लागि निःशुल्क बस्ने व्यवस्था, खानेपानीलगायत आधारभूत सुविधा उपलब्ध गराइएको उनले बताए। साथै, गुनासो सुनुवाइ, गुनासोको प्रभावकारी सम्बोधन तथा सकेसम्म छिटो न्यायिक सेवा प्रदान गर्न अदालत प्रतिबद्ध रहेको उनको भनाइ थियो।

अन्तरक्रिया कार्यक्रममा न्यायाधीश प्रेमप्रसाद न्यौपाने, नगेन्द्रकुमार कालाखेती, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष विनोद न्यौपाने, पूर्वअध्यक्ष मोतीराम तिमल्सिना तथा अदालतका सूचना अधिकारी एवं अधिकृत अक्षयकुमार दनुवारलगायतले अदालतको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा चालु आर्थिक वर्षमा दर्ता भएका तथा फर्छ्योट गरिएका मुद्दाको संख्या, फैसला, फैसला कार्यान्वयनको अवस्था तथा लक्ष्यअनुसार न्याय सम्पादनमा हासिल भएका प्रगतिबारे पनि जानकारी गराइएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय