कमलमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सम्पन्न, डेंगु नियन्त्रणमा समुदायको सक्रिय सहभागितामा जोड

झापा । डेंगु, चिकुनगुनिया लगायत लामखुट्टेजन्य रोगको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले कमल गाउँपालिकाको स्वास्थ्य शाखाले सञ्चालन गरेको ‘खोज र नष्ट (Search and Destroy)’ अभियान शनिबार कमल गाउँपालिका–५ पाडाजुङ्गी (मङ्गलबारे) क्षेत्रमा सम्पन्न भएको छ।

कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा सम्पन्न अभियानमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, युवा क्लब, सामाजिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

अभियान अन्तर्गत घर–आँगन तथा सार्वजनिक स्थानमा पानी जम्न सक्ने टायर, गमला, ड्रम, बोतल, कुलरलगायतका भाँडाको स्थलगत निरीक्षण गरी लामखुट्टेको लार्भा खोजी तथा नष्ट गरिएको थियो। साथै डेंगु तथा अन्य लामखुट्टेजन्य रोगबाट बच्न अपनाउनुपर्ने सावधानीबारे स्थानीयलाई जनचेतनामूलक सन्देशसमेत दिइएको थियो।

खोज तथा नष्ट अभियान पाडाजुङ्गी चोकबाट सुरु भई मंगलमय माध्यमिक विद्यालयको उत्तर क्षेत्र हुँदै रवि पेट्रोल पम्पको पश्चिमी क्षेत्रसम्म सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

अभियानमा सहारा नेपाल, केन्द्रीय कार्यालय झापाको प्राविधिक सहयोग रहेको थियो भने सगुन युथ क्लब, कमल–५, शान्त जीवन प्रतिष्ठान नेपाल र नेपाल रेडक्रस सोसाइटी, कमल गाउँपालिका शाखाले समन्वय गरेका थिए।

कार्यक्रममा सहारा नेपालकी निखिता श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी कमल शाखाका सभापति चन्द्र शाह, सगुन युथ क्लबका अध्यक्ष देवी आङ्देम्बे, लखनपुर स्वास्थ्य चौकी प्रमुख देवराज पराजुली, कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक दाहाल, शान्त जीवन प्रतिष्ठान नेपालका सञ्चालक रोशन भट्टराई लगायत विभिन्न संघसंस्था, व्यावसायिक क्षेत्र तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले डेंगु नियन्त्रणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। उहाँले प्रत्येक घरपरिवारले नियमित रूपमा आफ्नो घर–आँगन वरपर पानी जम्न नदिने, लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने कार्यलाई निरन्तरता दिन आग्रह गर्दै स्वस्थ, सुरक्षित र डेंगुमुक्त कमल निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय