मङ्गलमय माध्यमिक विद्यालय ‘स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय’ घोषित

कमल, झापा। कमल गाउँपालिका ५ स्थित श्री मङ्गलमय माध्यमिक विद्यालय ‘स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय’का रूपमा घोषणा भई सम्मानित भएको छ।

स्वास्थ्य कार्यालय, झापाले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम निर्देशिका, २०८१ को अनुसूची–४ बमोजिम गरिएको मूल्यांकनका आधारमा विद्यालयलाई ‘स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय’को प्रमाणपत्र प्रदान गरेको हो।

विद्यालयले स्वच्छ तथा सुरक्षित विद्यालय वातावरण, सुरक्षित खानेपानी, सरसफाइ, स्वास्थ्य शिक्षा, किशोर–किशोरी स्वास्थ्य, पोषण, वातावरण संरक्षण तथा स्वास्थ्यसम्बन्धी अन्य निर्धारित मापदण्डहरू सफलतापूर्वक पूरा गरेपछि उक्त सम्मान प्रदान गरिएको स्वास्थ्य कार्यालय, झापाले जनाएको छ।

यस उपलब्धिले विद्यालयमा गुणस्तरीय शिक्षासँगै विद्यार्थी, शिक्षक तथा समुदायको स्वास्थ्य प्रवर्द्धनका लागि सञ्चालन गरिएका कार्यक्रम र प्रयासहरू प्रभावकारी रूपमा कार्यान्वयन भएको पुष्टि गरेको छ।

कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले मङ्गलमय माध्यमिक विद्यालयले प्राप्त गरेको यो सम्मान कमल गाउँपालिकाका लागि गर्वको विषय भएको बताउँदै यसले अन्य विद्यालयहरूलाई पनि स्वास्थ्यमैत्री तथा स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालयका मापदण्ड पूरा गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।

उहाँले विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा यस अभियानमा योगदान पुर्‍याउने सबै सरोकारवालालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय