इलाम। अविरल वर्षाका कारण मेची राजमार्गका विभिन्न खण्डहरूमा पहिरो र रुख ढलेर सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय इलाम अनुसार राजमार्गका दुई फरक स्थानमा बाटो बन्द हुँदा सवारी साधनको आवतजावत ठप्प बनेको हो।
पहिलो अवरोध इलाम नगरपालिका वडा नम्बर ९ स्थित राजदुवालीमा भएको छ। गत असार १३ गते राति करिब ११:४० बजेको समयमा परेको वर्षाका कारण लेदोसहितको पहिरो खस्दा उक्त सडक खण्ड पूर्ण रूपमा बन्द भएको हो।



घटना लगत्तै गोलाखर्कबाट प्रहरी टोली उक्त स्थानमा खटिएको छ भने अवरुद्ध बाटो मर्मत सम्भार गरी सुचारु गर्नका लागि स्थानीय निकायसँग आवश्यक समन्वय र पहल भइरहेको जनाइएको छ।
त्यसैगरी, मेची राजमार्गकै अर्को खण्ड रोङ गाउँपालिका वडा नम्बर ४ स्थित डुमी चोकमा पनि बाटो अवरुद्ध भएको छ। असार १४ गते बिहान करिब ५:३० बजे सडकको भित्ताको डिस्को खस्नुका साथै सखुवा जातको रुख ढलेर सडक पूर्ण रूपमा बन्द भएको हो। जसका कारण सवारी साधनहरू ठप्प भएका छन्।
उक्त स्थानमा बाटो खुलाउनका लागि किटनीबाट प्रहरी टोली परिचालित भइसकेको छ र सडक सुचारु गर्न स्थानीय निकायसँग आवश्यक पहल भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।








