झापा । लागूऔषध दुर्व्यसनको बढ्दो जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल (एपीएफ) ले झापामा समुदायस्तरीय सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रममा विद्यालयका विद्यार्थी, युवा तथा अभिभावकलाई लक्षित गर्दै लागूऔषधको कुलतमा फस्ने कारण, त्यसका असर र बच्ने उपायबारे जानकारी दिइएको थियो। एपीएफ टोलीले साथीहरूको दबाब, गलत संगत, जिज्ञासा तथा तनाव व्यवस्थापन गर्न नसक्दा धेरैजसो व्यक्ति लागूऔषधको प्रयोगतर्फ आकर्षित हुने गरेको जनाएको छ।



कार्यक्रममा उदाहरण प्रस्तुत गर्दै सुरुमा सामान्य प्रयोगका रूपमा सुरु भएको लागूऔषध सेवनले विस्तारै व्यक्तिको स्वास्थ्य, शिक्षा, पारिवारिक सम्बन्ध र आर्थिक अवस्थासमेत प्रभावित पार्ने बताइएको थियो।
एपीएफ प्रतिनिधिहरूले अभिभावकलाई बालबालिका तथा युवाको व्यवहारमा आउने परिवर्तनप्रति सचेत रहन आग्रह गर्दै युवाहरूलाई सकारात्मक गतिविधिमा सहभागी गराउन सुझाव दिए।
सहभागीहरूले लागूऔषध नियन्त्रणका लागि परिवार, विद्यालय, समुदाय र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको बताएका थिए। एपीएफले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
“लागूऔषधबाट होइन, आफ्नो लक्ष्यबाट प्रेरित बनौं” भन्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको हो।








