शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीलाई ‘कामचलाउ’को संज्ञा दिएको भनिएको अभिव्यक्तिप्रति शिक्षा क्षेत्रबाट तीव्र असन्तुष्टि व्यक्त गरिएको छ। सरोकारवालाहरूले मन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवार, असंवेदनशील र शिक्षकहरूको योगदानको अवमूल्यन गर्ने खालको भएको टिप्पणी गरेका छन्।
दशकौँदेखि विद्यालय शिक्षाको मेरुदण्डका रूपमा कार्यरत हजारौँ अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरूले आफ्नो जीवनको उर्जाशील समय शिक्षण पेशामै समर्पित गरेका छन्। तर राज्यको अस्थिर नीति, पटक–पटक बदलिने कानुनी व्यवस्था र स्पष्ट व्यवस्थापनको अभावका कारण उनीहरू स्थायी हुनबाट वञ्चित हुँदै आएका छन्।



शिक्षाविद् तथा शिक्षक नेताहरूका अनुसार अस्थायी शिक्षकहरू राज्यको आवश्यकता र संकटका बेला विद्यालय शिक्षालाई निरन्तरता दिने प्रमुख आधार बनेका थिए। स्थायी दरबन्दी अभाव, शिक्षक व्यवस्थापनको समस्या तथा विभिन्न संक्रमणकालीन अवस्थाहरूमा उनीहरूले विद्यालय सञ्चालनको जिम्मेवारी सम्हालेका थिए। त्यस्ता शिक्षकलाई सम्मान र उचित व्यवस्थापन गर्नुपर्नेमा ‘कामचलाउ’ जस्तो शब्द प्रयोग गर्नु दुःखद र दुर्भाग्यपूर्ण भएको उनीहरूको भनाइ छ।
सरोकारवालाहरूले शिक्षक स्थायी हुन नसक्नु व्यक्तिगत कमजोरी नभई राज्यकै नीतिगत असफलताको परिणाम भएको बताएका छन्। राज्यले वर्षौँसम्म सेवा लिएका शिक्षकहरूको भविष्य सुनिश्चित गर्न नसक्नु ठूलो प्रश्न भएको उनीहरूको तर्क छ।
मन्त्रीको अभिव्यक्तिले हजारौँ शिक्षक तथा विद्यालय कर्मचारीको मनोबल कमजोर बनाएको भन्दै शिक्षा क्षेत्रका जानकारहरूले सार्वजनिक रूपमा स्पष्ट धारणा र आवश्यक परे क्षमायाचनासमेत आउनुपर्ने माग गरेका छन्।
उनीहरूका अनुसार शिक्षा क्षेत्र कुनै प्रयोगशाला होइन, जहाँ बारम्बार नीति परिवर्तन गरेर शिक्षक र विद्यार्थीको भविष्यसँग खेलबाड गर्न सकियोस्। शिक्षा सुधारको नाममा शिक्षकको सम्मानमाथि चोट पुग्ने अभिव्यक्ति र व्यवहारले समग्र शैक्षिक वातावरणलाई नै प्रभावित पार्ने चेतावनीसमेत दिइएको छ।
शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि शिक्षकको मनोबल उच्च राख्नु, उनीहरूको योगदानको सम्मान गर्नु र दीर्घकालीन समाधान खोज्नु सरकारको दायित्व भएको सरोकारवालाहरूको जोड छ। मन्त्री पोखरेलको पछिल्लो अभिव्यक्तिले भने शिक्षा क्षेत्रभित्र नयाँ बहस र असन्तुष्टि जन्माएको छ।








