अध्ययन भिसा सिफारिस प्रकरण: कर्मचारीको संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ – शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

मन्त्रिस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्।

मन्त्रालयका अनुसार समितिलाई घटनासँग सम्बन्धित कर्मचारीहरूको भूमिका, जिम्मेवारी तथा सम्भावित संलग्नताबारे अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ। समितिले अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रक्रियागत कमजोरीबारे पनि अध्ययन गर्नेछ।

वाल्मीकि विद्यापीठको नाममा अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको प्रारम्भिक रूपमा देखिएपछि मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ। यससँगै, यसअघि सिफारिस गरिएका विदेशी नागरिकहरूको भिसासम्बन्धी थप प्रक्रिया अगाडि नबढाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।

मन्त्रालयले अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको यस घटनालाई गम्भीर रूपमा लिएको भन्दै अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक प्रशासनिक तथा कानुनी कारबाही गरिने स्पष्ट गरेको छ।

यसअघि पनि अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात तथा नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो। मन्त्रालयले उक्त प्रकरणको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गरिने जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय