


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले सिर्सिया नदी कोरिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड विपरीत फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन गरेको पाइए कडा कारबाही गरिने चेतावनी दिनुभएको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सिर्सिया नदीमा प्रशोधन नगरी फोहोर पानी मिसाइएको विषयमा प्राप्त गुनासा, उजुरी तथा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
मन्त्रालयले प्रचलित औद्योगिक तथा वातावरणीय कानुनअनुसार उद्योगहरूले अनिवार्य रूपमा फोहोर पानी प्रशोधन प्रणाली (ईटीपी) जडान गरी सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ। साथै, स्वीकृत वातावरणीय व्यवस्थापन योजना (ईएमपी) कार्यान्वयन गर्दै सरकारले तोकेको ‘इफ्लुएन्ट स्ट्यान्डर्ड’ अनुरूप मात्रै फोहोर पानी विसर्जन गर्न निर्देशन दिइएको जनाएको छ।
मन्त्री यादवले नदी तथा खोला प्रदूषण मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएकाले वातावरणीय मापदण्ड उल्लंघन गर्ने उद्योगलाई कुनै पनि हालतमा छुट नदिइने स्पष्ट पार्नुभएको छ।
विज्ञप्तिमा औद्योगिक तथा वातावरणीय मापदण्ड पालना नगर्ने उद्योगमाथि उद्योग विभाग तथा सम्बन्धित निकायमार्फत प्रचलित कानुनबमोजिम कडा कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।









