डीडीसी उत्पादन प्रवर्द्धनमा सरकारको जोड, मन्त्रिपरिषदमा विशेष छलफल

काठमाडौं । स्वदेशी उत्पादनको संरक्षण, किसानको हित प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि सरकारले दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको प्रवर्द्धन र बजार विस्तारलाई प्राथमिकतामा राखेको छ।

मन्त्रिपरिषद्को आज बसेको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले डीडीसीका उत्पादनहरूको प्रवर्द्धन सम्बन्धी एजेन्डा प्रस्तुत गर्दै स्वदेशी दुग्धजन्य उत्पादनको प्रयोग बढाउन आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री चौधरीले डीडीसीलाई थप प्रतिस्पर्धी, गुणस्तरीय र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारी निकायहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।

उहाँले नेपाली दुग्ध किसानबाट सङ्कलित दूधको उचित व्यवस्थापन, उत्पादनको बजारीकरण तथा किसानको आय सुनिश्चित गर्न सरकारको सक्रिय सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

बैठकका क्रममा मन्त्री चौधरीले प्रधानमन्त्री वालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका विभिन्न दुग्धजन्य उत्पादनहरूको प्याकेज हस्तान्तरण गर्नुभएको थियो।

प्रधानमन्त्री शाहले पनि डीडीसीका उत्पादनहरूको प्रयोग र प्रचारप्रसारमार्फत स्वदेशी वस्तुको उपभोग बढाउनुपर्ने सन्देश दिनुभएको बताइएको छ।

लामो समयदेखि शुद्ध तथा गुणस्तरीय दूध, घिउ, दही, पनिर, चिजलगायतका दुग्धजन्य उत्पादन उपभोक्तामाझ उपलब्ध गराउँदै आएको डीडीसीको प्रवर्द्धन अभियानले स्वदेशी उत्पादनप्रति विश्वास बढाउनुका साथै दुग्ध किसानलाई समेत प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय