सात वर्षको प्रतीक्षा अन्त्य गर्दै भारतले उचाल्यो साफ ट्रफी

गोवा, भारत — भारतले सात वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि जित्दै क्षेत्रीय महिला फुटबलमा आफ्नो वर्चस्व पुनः स्थापित गरेको छ। शनिबार गोवास्थित जवाहरलाल नेहरू रंगशालामा सम्पन्न फाइनल खेलमा भारतले साविक विजेता बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गर्दै छैटौँ पटक उपाधि उचाल्यो।

भारतको जितमा प्यारी जाक्सा, सानफिदा नोङग्रुम र ल्यान्डा कोमले एक–एक गोल गरे। बंगलादेशका लागि रितु चक्माले एकमात्र सान्त्वना गोल फर्काइन्।

खेलको ४३औँ मिनेटमा प्यारी जाक्साले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन्। तर पहिलो हाफको इन्जुरी समयमा रितु चक्माले गोल गर्दै बंगलादेशलाई १–१ को बराबरीमा ल्याइन्।

दोस्रो हाफ सुरु भएको तीन मिनेटमै सानफिदा नोङग्रुमले गोल गर्दै भारतलाई पुनः २–१ को अग्रता दिलाइन्। त्यसपछि ८१औँ मिनेटमा ल्यान्डा कोमले अर्को गोल थप्दै भारतको जित सुनिश्चित गरिन्।

भारतले यसअघि सन् २०१९ मा नेपाललाई ३–१ ले पराजित गर्दै पाँचौँ पटक उपाधि जितेको थियो। त्यसयताका दुई संस्करणमा भने भारत सेमिफाइनलबाटै बाहिरिएको थियो, जहाँ दुवै पटक नेपाल बाधक बनेको थियो। यस संस्करणमा भने बंगलादेशले सेमिफाइनलमा नेपाललाई २–१ ले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

लगातार तेस्रो उपाधिको लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश उपविजेतामै सीमित रहँदा भारतले सात वर्षको प्रतीक्षापछि पुनः साफ महिला फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा लेखाउन सफल भयो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय