कमल गाउँपालिकामा “नमूना पोषण विशेष कार्यक्रम” प्रभावकारी, ९१७ बालबालिकाको पोषण परीक्षण

झापा। कमल गाउँपालिकामा सञ्चालन भइरहेको “स्थानीय तहमा नमूना पोषण विशेष कार्यक्रम” प्रभावकारी रूपमा अगाडि बढिरहेको छ। कार्यक्रमअन्तर्गत सुनौला हजार दिनका आमाहरूलाई पोषणसम्बन्धी अभिमुखीकरण तथा ५ वर्षमुनिका बालबालिकाको पोषण लेखाजोखा समुदायस्तरमै सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

गत वैशाख १५ देखि ३० गतेसम्म सञ्चालन गरिएको पोषण लेखाजोखा कार्यक्रमबाट संकलित तथ्याङ्कको विश्लेषण सम्पन्न भएको छ। विश्लेषणका क्रममा ५ वर्षमुनिका बालबालिकाको पोषण अवस्था, MUAC (Mid Upper Arm Circumference) परीक्षण, Z-Score परीक्षण तथा कुपोषणको अवस्थासम्बन्धी विवरण प्रस्तुत गरिएको थियो।

स्वास्थ्य शाखाका प्रमुख दीपक प्रसाद दाहालका अनुसार कार्यक्रमअन्तर्गत ९१७ जना ५ वर्षमुनिका बालबालिकाको पोषण परीक्षण गरिएको थियो। परीक्षणमा ४७२ जना बालक र ४४५ जना बालिका सहभागी भएका थिए।

MUAC परीक्षणअनुसार ६७८ जना बालबालिका सामान्य अवस्थामा रहेका, २३ जना मध्यम कुपोषित र ३ जना गम्भीर कुपोषित भेटिएका छन्। त्यसैगरी Z-Score परीक्षणमा ५५१ जना सामान्य अवस्थामा, २० जना जोखिमयुक्त (शिथिल) कुपोषित, २६ जना मध्यम कुपोषित तथा ३ जना कडा शिथिल कुपोषित रहेको तथ्याङ्कले देखाएको छ।

कार्यक्रममा ५० जना गर्भवती तथा १२३ जना सुत्केरी महिलाको समेत सहभागिता रहेको स्वास्थ्य शाखाले जनाएको छ।

गाउँपालिका अध्यक्ष हुकुम सिंह राईका अनुसार राष्ट्रिय पोषण लेखाजोखा सम्पन्न भएका तथा कुपोषित बालबालिका पहिचान भएका समुदायहरूमा पुनः पोषण लेखाजोखा र पोषण अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको छ। हाल कमल गाउँपालिकाका सातै वडामा कार्यक्रम निरन्तर सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, गर्भवती तथा सुत्केरी महिलाहरूको सक्रिय सहभागिता रहेको छ। सहभागीहरूलाई स्तनपान, पूरक आहार, सन्तुलित पोषण, सरसफाइ तथा कुपोषण न्यूनीकरणसम्बन्धी व्यवहारिक जानकारी प्रदान गरिँदै आएको छ।

“स्थानीय तहमा नमूना पोषण विशेष कार्यक्रम” अन्तर्गत प्रत्येक वडाका दुई स्थानमा समुदायस्तरीय पोषण अभिमुखीकरण तथा पोषण लेखाजोखा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था रहेको छ।

यसैबीच स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक बालकृष्ण गौतमले कार्यक्रमको प्रत्यक्ष अवलोकन, सुपरिवेक्षण तथा अनुगमन गरिरहनुभएको छ। उहाँले कमल गाउँपालिका–१ र २ स्थित श्री ज्योति माध्यमिक विद्यालय, भुत्लुङमा सञ्चालन भइरहेको कार्यक्रमको स्थलगत अनुगमन गर्नुभएको थियो।

अनुगमनका क्रममा स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख जीवन चम्लागाईँ समेत सहभागी हुनुभएको थियो। उहाँले रजिस्टर अद्यावधिक, KoBo एपमार्फत डाटा इन्ट्री तथा कार्यक्रम सञ्चालन प्रक्रियाको अध्ययन गर्दै फिल्डमा खटिएका स्वास्थ्यकर्मीहरूको प्रशंसा गर्नुभयो।

अध्यक्ष राईले “स्थानीय तहमा नमूना पोषण विशेष कार्यक्रम” सञ्चालन भइरहेका सीमित स्थानीय तहमध्ये कमल गाउँपालिका पनि एक रहेको उल्लेख गर्दै कोशी प्रदेशमा यस्तो कार्यक्रम सञ्चालन हुनु गौरवको विषय भएको बताउनुभयो।

उहाँले पोषण सुधार, कुपोषण न्यूनीकरण तथा समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धिका लागि कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय