कमल गाउँपालिकामा स्तनपान प्रवर्द्धन तथा आमाको दूध प्रतिस्थापन वस्तु नियन्त्रण सम्बन्धी अभिमुखीकरण सम्पन्न

झापा।कमल गाउँपालिकाको आयोजनामा “आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९” तथा स्तनपान प्रवर्द्धन एवं संरक्षण सम्बन्धी सरोकारवाला निकाय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राई ज्यूबाट गरिएको थियो । उद्घाटन मन्तव्यका क्रममा अध्यक्ष राईले स्वस्थ, सक्षम र समृद्ध समाज निर्माणका लागि शिशुको उचित पोषण तथा स्तनपानको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

उहाँले जन्मपश्चात् शिशुलाई पहिलो छ महिनासम्म केवल आमाको दूध खुवाउनु नै बाल स्वास्थ्य संरक्षणको सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको अनियन्त्रित प्रयोगले बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष राईले मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि स्थानीय तह, स्वास्थ्य संस्था, फार्मेसी, निजी अस्पताल तथा समुदाय सबैको साझा जिम्मेवारी रहने बताउँदै कानुनले व्यवस्था गरेका मापदण्डको पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो । साथै, स्तनपान प्रवर्द्धन सम्बन्धी सचेतना समुदायस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्दै कमल गाउँपालिकाले स्वास्थ्य तथा पोषण सुधारका कार्यक्रमलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा कमल गाउँपालिका क्षेत्रभित्र रहेका फार्मेसी, निजी क्लिनिक तथा अस्पतालका सञ्चालक एवं प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रम सञ्चालन कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहालले गर्नुभएको थियो भने स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक बालकृष्ण गौतमले जानकारी गराउनुभएको थियो ।

अभिमुखीकरण कार्यक्रममा स्तनपानको महत्व, शिशु पोषण सुधार, आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको अनियन्त्रित प्रचार–प्रसार तथा बिक्री वितरण नियन्त्रण सम्बन्धी कानुनी व्यवस्था, स्वास्थ्य संस्थाहरूको भूमिका तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने विषयमा स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख आदरणीय जीवन चम्लागाईंले सहजीकरण तथा प्रशिक्षण गर्नुभएको थियो ।

स्वस्थ शिशु, स्वस्थ आमा र स्वस्थ समाज निर्माणका लागि स्तनपान प्रवर्द्धन अपरिहार्य रहेको कुरामा कार्यक्रममा विशेष जोड दिइएको थियो ।

साथै, आगामी चरणमा “आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९” सम्बन्धी फार्मेसी, अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा प्रत्यक्ष निरीक्षण तथा अनुगमन कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहालले जानकारी दिनुभयो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय