काठमाडौं । जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्ले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गर्दै प्रहरी कर्मचारीहरूलाई आशीर्वचन प्रदान गर्नुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूले जगद्गुरू शंकराचार्यलाई हार्दिक स्वागत गरेका थिए । भ्रमणका क्रममा उहाँले प्रहरी प्रधान कार्यालय परिसरमा ‘कल्पवृक्ष’ रोपण समेत गर्नुभयो ।



अवलोकनपछि आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचनामा आधारित भगवान शिवप्रति समर्पित भजन “शिव शम्भू” को जगद्गुरू शंकराचार्यद्वारा विमोचन गरिएको थियो ।
सो अवसरमा जगद्गुरू शंकराचार्यले कार्यक्रममा प्रत्यक्ष तथा भर्चुअल रूपमा सहभागी प्रहरी अधिकृत र जवानहरूलाई आशीर्वचन दिँदै नेपाल प्रहरीको आदर्श वाक्य “सत्य, सेवा, सुरक्षणम्” लाई आत्मसात् गर्दै नागरिक सुरक्षामा समर्पित प्रहरी संगठनको प्रशंसा गर्नुभयो । उहाँले राष्ट्र र नागरिकको जीउधनको सुरक्षामा नेपाल प्रहरीले अझ सफलतापूर्वक काम गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जगद्गुरू शंकराचार्यको आगमनले सम्पूर्ण नेपाल प्रहरी परिवारमा आत्मिक शान्ति, दिव्य प्रेरणा र गौरवको अनुभूति गराएको बताउनुभयो । उहाँले प्राप्त आशीर्वचनले प्रहरी कर्मचारीहरूमा सेवाभाव, आत्मबल तथा मनोबल वृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्नुभयो ।
आईजीपी कार्कीले प्रहरी संगठन केवल कानुन कार्यान्वयन गर्ने निकाय मात्र नभई राष्ट्र सेवा, न्याय र जनसुरक्षाको साधक पनि भएको बताउँदै आध्यात्मिक चिन्तनले प्रहरी कर्मचारीलाई धैर्यता, संयम, सकारात्मक सोच तथा नैतिक शक्ति प्रदान गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले “सत्य, सेवा, सुरक्षणम्” को मूल मन्त्रलाई आत्मसात् गर्दै नेपाल प्रहरी सदैव सत्य, न्याय, अनुशासन र धर्मको मार्गमा अडिग रहने प्रतिबद्धता समेत जनाउनुभयो ।
त्यसैगरी, विमोचित “शिव शम्भू” भजनले आध्यात्मिक चेतना, श्रद्धा र आत्मबोधतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्दै जगद्गुरू शंकराचार्यको आशीर्वादले भजनलाई अझ दिव्यता प्रदान गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालयका प्रहरी नायव महानिरीक्षक विश्व अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी जवानहरू लगायतको उपस्थिति रहेको थियो । साथै सातै प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय तथा मातहत निकायका प्रमुख तथा प्रतिनिधिहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।









