गौरादह । झापाको गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालित पूर्वाधार विकास योजनाहरू मूल्यवृद्धिका कारण अलपत्र परेको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारलाई सम्बोधन गर्दै वडाध्यक्ष भण्डारीले चालु आर्थिक वर्षको दररेट अनुसार ठेक्का प्रक्रिया सम्पन्न भई सडक, पुल तथा भवन निर्माणका काम सुरु भए पनि फागुन महिनापछि इन्धनमा भएको तीव्र मूल्यवृद्धिले निर्माण सामग्री तथा श्रम लागत अत्यधिक बढेको उल्लेख गरेका छन्।



उनले पुरानो दररेटमा निर्माण व्यवसायीले काम गर्न नसक्ने अवस्था आएको भन्दै अधिकांश योजना अधुरै छाडिएको बताएका छन्। स्थानीय तहले पटक–पटक ताकेता गरे पनि निर्माण व्यवसायीहरू मूल्य समायोजनको माग गर्दै काम अघि बढाउन तयार नभएको उनको भनाइ छ।
भण्डारीले सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधन भए पनि मूल्य समायोजन सम्बन्धी स्पष्ट व्यवस्था नहुँदा स्थानीय तह समस्यामा परेको बताएका छन्। “मूल्य नियन्त्रण वा समायोजन गर्ने अधिकार स्थानीय तहसँग छैन। यसले विकास निर्माणका काम प्रभावित भएका छन्,” उनले उल्लेख गरेका छन्।
उनका अनुसार गौरादह–१ मा मात्रै करिब ८ किलोमिटर कालोपत्रे सडक निर्माणको काम अलपत्र परेको छ। चालु आर्थिक वर्ष सकिन करिब एक महिना मात्रै बाँकी रहेकाले समयमै समाधान नआए बजेट फ्रिज हुने र पुनः ठेक्का प्रक्रिया अघि बढाउन पनि कठिन हुने अवस्था रहेको उनले बताएका छन्।
वडाध्यक्ष भण्डारीले जनप्रतिनिधिहरू दैनिक रूपमा नागरिकका प्रश्न र गुनासो सामना गर्न बाध्य भएको उल्लेख गर्दै संघीय सरकारले तत्काल उचित निकास दिनुपर्ने माग गरेका छन्।









