काठमाडौँ । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेदेखि देशभर कक्षा ११ को पठनपाठन सुरु गर्ने निर्णय गरेको छ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने तयारीसँगै मन्त्रालयले कक्षा ११ को शैक्षिक सत्र समयमै सञ्चालन गर्ने निर्णय गरेको हो। यस सम्बन्धमा आवश्यक सूचना प्रवाह गर्न तथा कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत सबै विद्यालय र स्थानीय तहलाई पत्राचार गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ।



यसअघि एसईई नतिजा प्रकाशन र कक्षा ११ को पठनपाठन सुरु हुने समयबारे विद्यार्थी तथा अभिभावकमा अन्योलता रहेको थियो। मन्त्रालयले उक्त अन्योलता अन्त्य गर्दै शैक्षिक सुशासन कायम गर्न र पठनपाठनलाई प्रभावकारी बनाउन समयमै शैक्षिक गतिविधि अघि बढाउन लागेको जनाएको छ।
मन्त्रालयका अनुसार असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु गर्दा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि हुनुका साथै विद्यालय तहका सबै कक्षाको शैक्षिक गतिविधिमा एकरूपता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।









