काठमाडौं । इरानको Qeshm Island मा अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा पक्राउ परेका नेपाली नागरिक अमृत झा हाल पनि इरानको बन्दर अब्बासस्थित हिरासतमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै झा रिहा भएको भन्ने यसअघिको जानकारी अपूर्ण तथा अनौपचारिक सूचनामा आधारित रहेको स्वीकार गर्दै त्यसबाट उत्पन्न अन्योलप्रति क्षमायाचना गरेको हो।



मन्त्रालयका अनुसार अमेरिका–इजरायल र इरानबीच २८ फेब्रुअरी २०२६ मा द्वन्द्व सुरु हुनुअघि नै, जनवरी २०२६ को प्रारम्भमा अमृत झासहित अन्य ६ जना विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीहरूले Qeshm Island बाट नियन्त्रणमा लिएका थिए।
विज्ञप्तिअनुसार १५ अप्रिल २०२६ मा इरानका लागि नेपाली अनररी कन्सल Shahram Shantiaee ले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई अमृत झा रिहा भएको जानकारी दिएका थिए।
सोही सूचनाका आधारमा परराष्ट्र मन्त्रालयले झा रिहा भएको अनौपचारिक जानकारी सार्वजनिक गरेको थियो। त्यसैका आधारमा परराष्ट्र मन्त्रीले पनि सामाजिक सञ्जालमार्फत उक्त विषय सार्वजनिक गर्नुभएको थियो।
तर केही दिनपछि प्राप्त विवरणअनुसार झा रिहा नभएको र अदालतले मुद्दासम्बन्धी “Expert Report” तयार गर्न आदेश दिएको मन्त्रालयले जनाएको छ। त्यसपछि मन्त्रालयले झाका परिवारलाई वास्तविक अवस्थाबारे जानकारी गराएको उल्लेख गरिएको छ।
हाल इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र Expert Report तयार पार्न गठित विज्ञ टोलीले प्रतिवेदन अदालतमा बुझाउने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ। इरानको कानुनअनुसार मुद्दाको टुंगो लाग्ने भएकाले झाको निष्पक्ष सुनुवाइ तथा आवश्यक कूटनीतिक पहल निरन्तर जारी रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले झा रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुँदा उत्पन्न भ्रम र असुविधाप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा यस्ता विषयमा थप सतर्कता अपनाइने जनाएको छ।









