दमक । दोस्रो दमक खेलकुद महोत्सव अन्तर्गत आयोजित वडा स्तरीय डब्लुटिएफ तेक्वान्दो प्रतियोगितामा दमक नगरपालिका वडा नम्बर–२ ले उत्कृष्ट प्रदर्शन गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित दमक नगर खेलकुद समितिको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगितामा दमक–२ का खेलाडीहरूले विभिन्न तौल समूहमा उत्कृष्ट नतिजा निकाल्दै धेरै स्वर्ण पदक जित्न सफल भएका छन्। प्रथम स्थान हासिल गर्ने खेलाडीहरूमा प्रज्ञा तामाङ (२९ केजी), साइल राई (२० केजी), इसाक राई (५५ केजी), डिम्पल बस्नेत (२० केजी), साइनो मगर (२६ केजी), रन्जिता तामाङ (४६ केजी), चिनो मगर (३५ केजी) र सुसान तामाङ (४९ केजी) रहेका छन्।



त्यसैगरी, दोस्रो स्थान हासिल गर्ने खेलाडीहरूमा सुम्निमा लिम्बू (४२ केजी), भिक्टोर कार्की (३३ केजी) र सिकुम लिम्बू (५५ केजी) रहेका छन् भने तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूमा सयोग थापा (२९ केजी), रायन तामाङ (२६ केजी), प्रतिक्षा तामाङ (५० केजी) र प्रगति तामाङ (३३ केजी) रहेका छन्। पुम्से विधातर्फ सुसान तामाङ र रन्जिता तामाङले पनि तेस्रो स्थान प्राप्त गरेका छन्।
प्रतियोगितामा प्रथम हुने खेलाडीलाई नगद २ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई १ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई १ हजार २ सय रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
खेलाडीहरूलाई समाजसेवी बलराम धिमालले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिताको आयोजना दमक नगर खेलकुद समितिले गरेको हो।
तेक्वान्दो विधाका नगर संयोजक जित बहादुर धिमाल ‘जितु’ ले प्रतियोगिताले बालबालिका तथा युवामा खेलप्रतिको आकर्षण बढाउनुका साथै अनुशासन, आत्मविश्वास र स्वस्थ जीवनशैली विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले दमक क्षेत्रमा तेक्वान्दो खेलको विकास र खेलाडी उत्पादनमा आफू निरन्तर सक्रिय रहेको जानकारी दिए।
प्रतियोगितामा दमक–५ का अर्पण धिमाल ‘बेस्ट फाइटर’ घोषित भएका थिए।









