काठमाडौं — नेपाली इसाई समुदायका लागि बाइबल तालिम केन्द्र स्थापना गर्ने उद्देश्यले दातृ संस्था तथा व्यक्तिहरूको सहयोगमा खरिद गरिएको भनिएको काठमाडौं महानगरपालिका–४, जोरपाटीस्थित एक जग्गा गोप्य रूपमा बिक्री गरिएको आरोप सार्वजनिक भएको छ।
उक्त जग्गा प्रारम्भमा “नेपाल बाइबल आश्रम” का लागि खरिद गरिएको भए पनि तत्काल संस्था दर्ता हुन नसकेपछि मंगलमान महर्जन, शान्ति राणा र रमेश खत्रीको संयुक्त नाममा राखिएको बताइएको छ। पछि “नेपाल धर्म विज्ञान” नामक संस्था दर्ता भएपछि सो जग्गा संस्थाको नाममा नामसारी गर्न २०६४ वैशाख २५ गते ती तीनै जनाले मञ्जुरीनामा दिएको विवरण बाहिर आएको छ।



तर त्यसपछि सोही जग्गा सम्बन्धित संस्थालाई हस्तान्तरण नगरी राष्ट्रिय मण्डली सङ्गति नेपाल (NCFN) लाई बिक्री गरिएको आरोप लागेको छ। प्राप्त विवरणअनुसार २०६८ साउन ९ गते जग्गा पास तथा रजिष्ट्रेशन दस्तुर तिर्न मंगलमान महर्जनले ४ लाख, शान्ति राणाले १० लाख र रमेश खत्रीले ६ लाख रुपैयाँ गरी कुल २० लाख रुपैयाँ ‘सापटी’ दिएको उल्लेख छ।
राजीनामा पारित गर्दा ३ करोड २६ लाख रुपैयाँ थैली अंक उल्लेख गरिएको तथ्यले थप प्रश्न उठाएको छ। धार्मिक तथा संस्थागत उद्देश्यका लागि दाताको रकमबाट खरिद गरिएको सम्पत्ति निजी स्वामित्वसरह बिक्री गरिएको हो वा होइन भन्ने विषयमा अहिले समुदायभित्र व्यापक चासो देखिएको छ।
यस प्रकरणमा बिक्रीबाट प्राप्त रकमको उपयोग, दाताहरूलाई जानकारी दिइएको वा नदिइएको तथा संस्थागत निर्णय प्रक्रिया पारदर्शी थियो वा थिएन भन्ने विषयमा प्रश्न उठेका छन्।
कानुन व्यवसायीहरूका अनुसार दाताको रकमबाट खरिद गरिएको सम्पत्ति अपारदर्शी रूपमा बिक्री गरिएको पुष्टि भएमा यो आर्थिक अनियमितता, विश्वासघात तथा संगठित ठगीसम्बन्धी अनुसन्धानको विषय बन्न सक्छ।
यस घटनाको निष्पक्ष छानबिन गरी जग्गा खरिदको स्रोत, कारोबार प्रक्रिया तथा बिक्री रकमको उपयोगबारे सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।








