रास्वपाको केन्द्रीय सचिवालय बैठक सम्पन्न, अधिवेशन तालिकादेखि नयाँ जिम्मेवारीसम्मका निर्णय सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय सचिवालय बैठकले आगामी वडा, पालिका तथा जिल्ला अधिवेशनका लागि विशेष कार्यतालिका स्वीकृत गर्दै विभिन्न विभाग तथा प्रदेश तहमा नयाँ जिम्मेवारी तोकेको छ। बैठक २०८३ वैशाख २७ गते सम्पन्न भएको हो।

बैठकले पार्टी संगठन विस्तार तथा अधिवेशनलाई व्यवस्थित बनाउन चरणबद्ध तालिका सार्वजनिक गरेको छ। निर्णयअनुसार २०८३ जेठ २ गते समिति गठन नभएका वडाहरूमा वडा भेला आयोजना गरिनेछ भने वैशाख २० अगावै समिति गठन भएका वडाहरूमा जेठ ३ गते वडा अधिवेशन हुने तय गरिएको छ।

त्यसैगरी, समिति गठन नभएका पालिकाहरूमा जेठ ९ गते पालिका भेला र वैशाख २५ अगावै समिति गठन भएका पालिकाहरूमा जेठ १० गते पालिका अधिवेशन आयोजना गरिनेछ। बाँकी वडाहरूको अधिवेशन जेठ १६ गते तथा बाँकी पालिकाहरूको अधिवेशन जेठ १७ गते गर्ने निर्णय गरिएको छ। जिल्ला अधिवेशन भने जेठ २३ र २४ गते सञ्चालन गरिने जनाइएको छ।

बैठकले विभिन्न विभाग र तहमा नयाँ पदाधिकारी तथा सदस्यहरू मनोनित गर्ने निर्णय पनि गरेको छ। निर्णयअनुसार RAT समन्वय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) र उपप्रमुखमा पूर्व एपीएफ डीआईजी विदुर खड्का नियुक्त भएका छन्।

यस्तै, स्टार्टअप विभाग प्रमुखमा डा. प्रभात अधिकारी तथा सचिवमा हरि जोशी, शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे, कर्णाली प्रदेश सहमन्त्रीमा राजबहादुर शाह र अविसरा सुवेदी तथा केन्द्रीय संगठन विभाग सदस्यमा गोपाल प्याकुरेल (कर्णाली) मनोनित भएका छन्। कञ्चनपुर जिल्ला सभापतिमा पदम बिष्टलाई जिम्मेवारी दिइएको छ।

बैठकले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय गर्दै जिल्ला अधिवेशनको तयारी अघि बढाउने जनाएको छ।

त्यसैगरी, पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेज गर्ने निर्णय पनि गरिएको छ।

रास्वपाले पार्टी केन्द्रीय समितिको आगामी बैठक २०८३ वैशाख ३० गते बस्ने जानकारी दिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय