काठमाडौं । आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपालका अध्यक्ष भरत गिरीले नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र ऐतिहासिक अधिकारका विषयलाई भावनात्मक नाराभन्दा दीर्घकालीन रणनीति, शक्ति र कूटनीतिक दूरदृष्टिका आधारमा अघि बढाउनुपर्ने बताएका छन्।
उनले हाल नेपालमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा केन्द्रित बहस भइरहे पनि ऐतिहासिक रूपमा “ग्रेटर नेपाल” सम्बन्धी विषयसमेत गम्भीर राष्ट्रिय विमर्शको हिस्सा बन्नुपर्ने धारणा व्यक्त गरेका छन्।



गिरीका अनुसार ब्रिटिस उपनिवेशवादको समयमा विभिन्न नेपाली भूभागहरू नेपालबाट अलग गरिएको इतिहासलाई अध्ययन, अनुसन्धान र अन्तर्राष्ट्रिय कूटनीतिक तहमा उठाउने विषयमा राज्यले दीर्घकालीन सोच बनाउन आवश्यक छ। उनले नेपालले कसैको भूमि नचाहेको स्पष्ट पार्दै आफ्नो ऐतिहासिक र वैधानिक अधिकारबारे बहस उठाउनु विस्तारवाद नभई राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषय भएको उल्लेख गरेका छन्।
उनले भावनात्मक दबाबमा गरिने हतारका निर्णय वा सम्झौताले भविष्यमा नेपालको ऐतिहासिक दाबी कमजोर बन्न सक्ने चेतावनीसमेत दिएका छन्। “सानो चुच्चो खोज्दा गोजीकै ठूलो अधिकार नगुमोस् भन्नेमा सरकार गम्भीर हुनुपर्छ,” उनले भनेका छन्।
अध्यक्ष गिरीले नेपालले पहिले आर्थिक, सैनिक, प्राविधिक र कूटनीतिक रूपमा आफूलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार आत्मनिर्भर र शक्तिशाली राष्ट्र बनेपछि मात्र इतिहाससँग जोडिएका जटिल विषयहरूलाई सम्मानजनक रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउन सकिन्छ।
उनले वर्तमान सरकार तथा राष्ट्रिय स्वाभिमानका सवालमा खुलेर बोल्ने राजनीतिक नेतृत्वसँग यस विषयमा गम्भीर राष्ट्रिय बहस, अध्ययन र पहलको अपेक्षा गरेका छन्।
“देश भावनाले होइन, दूरदृष्टि, शक्ति र रणनीतिले बन्छ,” गिरीको भनाइ छ।









