झापा। कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले कमलबासीलाई ढुक्क रहन आग्रह गर्दै हाल गाउँपालिकाभित्र कतै पनि डोजर नचल्ने स्पष्ट पार्नुभएको छ। पछिल्लो समय सुकुम्बासी तथा भुमिहीन नागरिकमा देखिएको अन्योल र त्रासप्रति ध्यानाकर्षण गर्दै उहाँले यस्तो आश्वासन दिनुभएको हो।
अध्यक्ष राईका अनुसार विगतमा गठन भएका विभिन्न भूमि सम्बन्धी आयोगहरूले अपेक्षाकृत काम गर्न नसक्दा ठूलो संख्यामा वास्तविक सुकुम्बासी नागरिकहरूले जग्गा धनीपुर्जा पाउन सकेका छैनन्। आयोगहरूमा पहुँचवालाहरूको प्रभाव बढी हुँदा वास्तविक भुमिहीन नागरिकहरू आफ्नै अधिकारबाट वञ्चित हुनुपरेको यथार्थ रहेको उहाँले उल्लेख गर्नुभयो।



पछिल्लो समय संघीय सरकारले चालेका केही कदमहरूबारे स्पष्टता नहुँदा स्थानीयमा भय र त्रास सिर्जना भएको भन्दै गाउँपालिकाले यसलाई गम्भीर रूपमा लिएको जनाएको छ।
अध्यक्ष राईले छिटोभन्दा छिटो लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाउन संघीय सरकारलाई आग्रह गर्दै त्यसमा स्थानीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसैबीच, कमल गाउँपालिकाले ७ दिनभित्र सबै वडाबाट वास्तविक सुकुम्बासीको तथ्यांक संकलन गर्न वडा कार्यालयहरूलाई पत्राचार गरिसकेको जनाएको छ। सही र यथार्थ विवरण उपलब्ध गराएर सहयोग गर्न सम्पूर्ण स्थानीयवासीसँग अनुरोध गरिएको छ।
गाउँपालिकाले प्राप्त तथ्यांकका आधारमा सम्बन्धित निकाय मार्फत वास्तविक सुकुम्बासीको पहिचान गरिने स्पष्ट पार्दै अध्यक्ष राईले भन्नुभयो, “त्यसअघिसम्म हतारमा कुनै निर्णय हुँदैन, यो प्रतिकूल मौसममा कमलबासी ढुक्क हुनुहोस्—कहीं पनि डोजर चल्दैन।”








