नेपाल–पोर्चुगल सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएकी पोर्चुगलकी उप–विदेश मन्त्री डा. एना इसाबेल जेभियरले आज परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्नुभएको छ।

भेटका क्रममा मन्त्री खनालले सन् २०२६ अप्रिल १ मा आफ्ना पोर्चुगाली समकक्षी पाउलो राङ्गेलसँग भएको टेलिफोन संवाद स्मरण गर्दै काठमाडौंमा पोर्चुगलको कूटनीतिक नियोग स्थापना गर्ने निर्णयको स्वागत गर्नुभयो। उहाँले उक्त नियोग स्थापनामा नेपाल सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, नेपाली नागरिकसँग सम्बन्धित कन्सुलर समस्याहरू समाधान गर्न पोर्चुगल सरकारले देखाएको सकारात्मक पहलप्रति आभार व्यक्त गर्नुभयो।

उप–विदेश मन्त्री डा. जेभियरले मन्त्री खनाललाई परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

यसअघि आजै परराष्ट्र सचिव अमृत बहादुर राई र उप–विदेश मन्त्री जेभियरबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा नेपाल–पोर्चुगल सम्बन्धका विविध पक्षहरूको समीक्षा गर्दै फेब्रुअरी २०२६ मा लिस्बनमा सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकपछि दुई देशबीचको सम्बन्धमा आएको गतिप्रति सन्तुष्टि व्यक्त गरिएको थियो।

दुवै पक्षले पर्यटन, लगानी, व्यापार, श्रम तथा डिजिटाइजेशनका क्षेत्रमा सहकार्य विस्तार गर्ने र नयाँ सम्भावनाहरू खोज्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

परराष्ट्र सचिव राईले उप–विदेश मन्त्री जेभियर तथा उहाँको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना पनि गर्नुभएको थियो।

तीनदिने भ्रमणमा रहनुभएकी डा. जेभियर मे १, २०२६ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय