शिक्षामन्त्री सस्मित पोखरेल सँग चिनियाँ राजदूतको शिष्टाचार भेट, सहकार्य विस्तारमा जोड
  1. काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ बीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा सम्पन्न उक्त भेटमा शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलकुद क्षेत्रहरूमा दुई देशबीचको सहयोग र सहकार्य विस्तारबारे छलफल गरिएको थियो।

भेटका क्रममा विद्यालयको पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणालीको प्रयोग, संस्थागत सुदृढीकरण लगायत समसामयिक विषयमा विशेष रूपमा कुराकानी भएको मन्त्रालयले जनाएको छ। साथै, नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउँदै आपसी सहकार्य बढाउने विषयमा पनि दुवै पक्षबीच समझदारी बनेको छ।

मन्त्री पोखरेलले विद्यालय पूर्वाधार विकास र डिजिटल शिक्षालाई प्राथमिकता दिँदै चिनियाँ सरकारसँगको सहकार्य अझ विस्तार गर्न चाहेको बताउनुभयो। उहाँले शिक्षा क्षेत्रमा सञ्चालन भइरहेका परियोजनाहरू शीघ्र सम्पन्न गर्न तथा नेपाली युवाको रुचिअनुसार उपलब्ध हुने छात्रवृत्ति अवसरलाई अझ प्रवर्द्धन गर्न पनि चिनियाँ पक्षको ध्यानाकर्षण गराउनुभयो।

राजदूत माओमिङले नेपाल सरकारका प्रस्तावप्रति चीन सकारात्मक रहेको र आगामी दिनमा सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजान तयार रहेको धारणा व्यक्त गर्नुभयो।

भेटमा दुई देशबीचको आपसी हित, बहुआयामिक सम्बन्ध र सहकार्यलाई थप प्रगाढ बनाउने विषयमा सहमति भएको जनाइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय