काभ्रे — राष्ट्रिय आइसिसि डे २०२६ को अवसरमा क्यान महासङ्घ काभ्रे शाखाले “Cyber Security and Online Safety” सम्बन्धी कार्यक्रम आइतबार बनेपामा सम्पन्न गरेको छ।
काभ्रे लेडी जेसिसको आयोजनामा तथा क्यान महासङ्घ काभ्रे शाखाको प्राविधिक सहयोगमा बनेपा स्थित जेसिस सचिवालयमा आयोजित कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष हिटलर शाक्य प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो।



कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाक्यले डिजिटल युगसँगै साइबर अपराधका घटनाहरू बढ्दै गएको उल्लेख गर्दै महिला दिदीबहिनीहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस्तो प्रशिक्षण अत्यन्त सान्दर्भिक र प्रभावकारी भएको बताउनुभयो। उहाँले यस्ता जनचेतनामूलक कार्यक्रमलाई स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने धारणा समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा क्यान महासङ्घ काभ्रे जिल्ला शाखाका अध्यक्ष देवकी आचार्य दुलालले करिब ४० जना सहभागीलाई साइबर सुरक्षासम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षणका क्रममा डिजिटल माध्यममा सामान्य देखिने तर गम्भीर जोखिम निम्त्याउन सक्ने गतिविधिहरू र तिनबाट बच्ने व्यावहारिक उपायहरूबारे जानकारी गराइएको थियो।
उक्त कार्यक्रममा क्यान महासङ्घका कार्यसमिति सदस्यहरू, जेसिसका पूर्व अध्यक्षहरू तथा अन्य सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापति तथा काभ्रे लेडी जेसिसकी अध्यक्ष मोनिका शाक्यले डिजिटल युगमा साइबर तथा अनलाइन सुरक्षाको महत्त्व बढ्दै गएको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।










