काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका नदीकिनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनेका बस्ती हटाउने अभियानलाई आज पनि निरन्तरता दिएको छ। हिजो बाँकी रहेका संरचनाहरू भत्काउन र जग्गा खाली गर्न सरकारी टोली बिहानैदेखि खटिएको हो।
कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार बुद्धचोक र वडा नं. ९ को मनोहरा टोल क्षेत्रमा रहेका जोखिमपूर्ण बस्तीहरू खाली गर्न सुरु गरिएको छ। सुरक्षाकर्मीले बस्तीमा रहेका नागरिकलाई सरसामान निकाल्न तथा सुरक्षित स्थानमा ढुवानी गर्न सहयोग गरेका छन्।



यसअघि काठमाडौँ महानगरपालिका–११ स्थित थापाथली क्षेत्रको बस्ती शान्तिपूर्ण रूपमा खाली गरिएको थियो भने अहिले वडा नं. ९ को गैरीगाउँ र वडा नं. ३१ को शान्तिनगर क्षेत्रमा पनि क्रमशः खाली गरिने तयारी छ।
सरकारका अनुसार हालसम्म २१४ परिवार सम्पर्कमा आएका छन्। प्रभावित परिवारलाई तत्कालका लागि विभिन्न होटल तथा अस्थायी आवासमा बसोबास र खानपानको व्यवस्था गरिएको छ। प्रारम्भिक चरणमा उनीहरूलाई दर्ता तथा व्यवस्थापनका लागि दशरथ रंगशालामा लगिएको छ।
सरकारले अवैध रूपमा नदीकिनार र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने र वास्तविक भूमिहीनको पहिचान गरी दीर्घकालीन व्यवस्थापन गर्ने योजना अघि बढाएको जनाएको छ।










