काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा दाङ क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्यले संसदमा प्रस्तुत हुने विधेयकहरूमा नागरिक, विषय विज्ञ र सरोकारवालाको प्रत्यक्ष सुझाव संकलन गर्ने उद्देश्यले ‘विधेयक प्रयोगशाला’ (Bill Lab) सुरु गरेका छन्।
आचार्यको आधिकारिक वेबसाइट https://bipinacharya.com मार्फत सुरु गरिएको यस प्लेटफर्ममा संसदमा दर्ता भएका विधेयकहरू पढ्न, बुझ्न, छलफल गर्न तथा दफा–दफामाथि सुझाव र संशोधन प्रस्ताव राख्न सकिने व्यवस्था गरिएको छ।



उनका अनुसार सरकारको प्रमुख जिम्मेवारी विधेयक प्रस्तुत गर्नु भए पनि ती विधेयकलाई मसिनोसँग अध्ययन, परिष्कृत र जनजीवनसँग जोड्ने काम संसद, जनप्रतिनिधि र नागरिक सबैको साझा दायित्व हो।
बन्द कोठाभित्र मात्र बनेका संशोधनले समाजको वास्तविकता पूर्ण रूपमा समेट्न नसक्ने भएकाले नागरिक, विज्ञ र सरोकारवालाको प्रत्यक्ष सहभागिता आवश्यक रहेको भन्दै उनले ‘विधेयक प्रयोगशाला’ सुरु गरिएको जनाएका छन्।
यस प्लेटफर्ममार्फत नागरिकले विधेयकका प्रावधानहरूले आफ्नो जीवन, पेशा, व्यवसाय वा समुदायमा पार्ने प्रभाव, अस्पष्ट वा व्यावहारिक रूपमा कठिन व्यवस्थाहरू तथा सुधारका आवश्यक पक्षबारे सुझाव दिन सक्नेछन्।
प्राप्त सुझाव तथा संशोधन प्रस्तावहरू अध्ययन गरी सम्भव भएसम्म संसदको औपचारिक प्रक्रियासँग जोड्ने प्रयास गरिने सचिवालयले जनाएको छ।
हाल यस ‘विधेयक प्रयोगशाला’ मा दुई वटा विधेयकमा सुझाव दिन सकिने व्यवस्था गरिएको छ:
चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
https://bipinacharya.com/bill-lab/3
पर्यटन सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
https://bipinacharya.com/bill-lab/2
आगामी दिनमा संसदमा प्रस्तुत हुने अन्य विधेयकहरूलाई पनि यसै प्रक्रियामार्फत सार्वजनिक छलफल र नागरिक सुझावका लागि खुला गर्दै जाने योजना रहेको सचिवालयले जनाएको छ।










