काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ को मस्यौदामा सरोकारवालाबाट राय–सुझाव आह्वान गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै रणनीतिलाई थप परिष्कृत, व्यावहारिक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका विज्ञ, निजी क्षेत्र, नागरिक समाज तथा आम सर्वसाधारणको सुझाव आवश्यक रहेको जनाएको हो।
मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नं. ७४ (क) र (ग) अनुसार ऊर्जा खपत वृद्धि र निर्यात व्यवस्थापनलाई लक्षित गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले उच्चस्तरीय अध्ययन समिति गठन गर्नुभएको थियो। उक्त समितिले बिहीबार रणनीतिको मस्यौदा तयार गरी मन्त्रीसमक्ष पेश गरेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार देशभित्र ऊर्जा खपत बढाउने तथा अतिरिक्त विद्युतलाई व्यवस्थित रूपमा निर्यात गर्ने उद्देश्यले रणनीति तयार गरिएको हो।
मस्यौदा अध्ययन गरी तीन दिनभित्र सुझाव उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ। मस्यौदा मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको छ भने इच्छुकले इमेल वा फिडब्याक पोर्टलमार्फत आफ्नो सुझाव पठाउन सक्नेछन्।
प्राप्त सुझाव समेट्दै रणनीतिलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ।



