कमल — समुदायस्तरमै पुगेर स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रेसर तथा सुगर (डायबिटिज) जाँच अभियान प्रभावकारी देखिएको छ। स्वास्थ्य कार्यालय झापाको सक्रियतामा सञ्चालन भइरहेको उक्त कार्यक्रमको हालै समीक्षा गरिएको हो।
स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठको सहजीकरणमा सम्पन्न समीक्षा कार्यक्रममा स्थानीय तहमा नसर्ने रोग नियन्त्रण अभियानलाई अझ सुदृढ बनाउने निष्कर्ष निकालिएको स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहालले जानकारी दिनुभयो।
कार्यक्रममा विभिन्न वडामा सक्रिय २/२ जना महिला स्वास्थ्य स्वयंसेविका तथा फोकल पर्सनहरूको सहभागिता रहेको थियो। उनीहरूले घरदैलोमै पुगेर गरिएको रक्तचाप (प्रेसर) तथा रगतमा चिनी (सुगर) परीक्षणको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए।
कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईका अनुसार, ७ वटै वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी २०८२ भाद्रदेखि कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको छ।
समीक्षा क्रममा प्रयोग भइरहेको स्वास्थ्य सामग्री, मापन विधि, सेवाको पहुँच तथा प्रतिवेदन प्रणालीबारे विस्तृत छलफल गरिएको थियो। उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घरोगको समयमै पहिचान, नियमित निगरानी र समुदायमा सचेतना अभिवृद्धिमा कार्यक्रमले सकारात्मक प्रभाव पारेको सहभागीहरूले बताएका छन्।
त्यस्तै, सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने, जोखिम समूहको पहिचान तीव्र पार्ने, तथ्याङ्क व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने तथा स्वयंसेविकाको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने सुझावहरू पनि प्रस्तुत गरिएका छन्।
कार्यक्रमका सहजीकर्ता विश्वनाथ श्रेष्ठले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई “समुदायको पहिलो स्वास्थ्य सम्पर्क बिन्दु” का रूपमा उल्लेख गर्दै उनीहरूको योगदानको प्रशंसा गर्नुभयो। उहाँले सेवा गुणस्तर कायम राख्दै नियमित अनुगमन र प्रभावकारी प्रतिवेदन प्रणाली आवश्यक रहेकोमा जोड दिनुभयो।
स्थानीय तहमा यस्ता कार्यक्रमहरूले घरघरमै स्वास्थ्य सेवा पुर्याउने, नसर्ने रोगको प्रारम्भिक पहिचान गर्ने र समग्र जनस्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।




