सिरुवा शुभकामनामा विवाद: मुख्यमन्त्री कार्कीको सन्देशप्रति सामाजिक सञ्जालमा आलोचना

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की ले सिरुवा पर्व/जुडशीतलको अवसरमा जारी गरेको शुभकामना सन्देशप्रति सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ।

तराई क्षेत्रमा बसोबास गर्ने थारु र मैथिली समुदायलाई लक्षित गर्दै दिइएको उक्त सन्देशमा अन्य समुदायको नाम उल्लेख नगरिएको भन्दै केही व्यक्तिहरूले असन्तुष्टि जनाएका छन्।

मुख्यमन्त्री कार्कीले आफ्नो सन्देशमा सिरुवा पर्वलाई बसन्त ऋतुको आगमन, नयाँ वर्षको सुरुवात तथा आपसी सद्भाव र सांस्कृतिक एकताको प्रतीकका रूपमा व्याख्या गरेका छन्। साथै, कोशी प्रदेश सरकारले सबै जातजाति, धर्म र संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरेका छन्।

तर सन्देश सार्वजनिक भएसँगै मोरङको रतुवामाई–४ निवासी शिक्षक सहदेव सिंह ताजपुरियाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राजवंशी, ताजपुरिया, गन्गाईलगायत आदिवासी जनजाति समुदायको नाम उल्लेख नगरिनु आपत्तिजनक भएको बताएका छन्।

उनले यसलाई विगतदेखि हुँदै आएको विभेद र पक्षपातको निरन्तरताका रूपमा व्याख्या गर्दै गौरादह र गौरिगञ्ज क्षेत्रका आदिवासी समुदायमाथि राजनीतिक रूपमा उपेक्षा हुँदै आएको दाबी गरेका छन्। यस घटनाले त्यस्तो असन्तुष्टिलाई थप बल पुर्‍याउने संकेत समेत उनले गरेका छन्।

त्यस्तै, अर्का गौरिगन्ज निवासी आत्मराम राजवंशीले पनि झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी, ताजपुरिया र गन्गाई समुदायका लागि सिरुवा पर्व महत्वपूर्ण रहेकाले उनीहरूको नाम उल्लेख नहुनु दुःखद् भएको प्रतिक्रिया दिएका छन्।

यस विषयमा सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया भने आउन बाँकी रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय