संसद भवनमा पत्रकारको पहुँच सहज बनाइने : सभामुख अर्याल

काठमाडौं। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग संसदीय रिपोर्टिङमा संलग्न पत्रकारहरूको टोलीले आज भेटघाट गरेको छ। भेटमा पत्रकारहरूले संसद् भवन प्रवेशका क्रममा गेट फरक–फरक हुँदा भोग्नुपरेको प्राविधिक झन्झट तथा फोटो खिच्दा हुने कडा सुरक्षा व्यवस्थाले समाचार सङ्कलनमा अवरोध सिर्जना गरेको गुनासो राखेका थिए।

पत्रकारहरूले अन्तर्राष्ट्रिय अभ्यास र प्रेस स्वतन्त्रताको भावना अनुरूप संसद् परिसरभित्र सहज, व्यवस्थित र मर्यादित कार्यवातावरण सुनिश्चित गर्न माग गरेका छन्।

गुनासोप्रति प्रतिक्रिया दिँदै सभामुख अर्यालले हाल संसद् भवन अस्थायी संरचनामा सञ्चालन भइरहेकाले केही व्यावहारिक समस्या देखिएको स्वीकार गर्नुभयो। उहाँले स्थायी संसद् भवन निर्माण सम्पन्न भएपछि यस्ता भौतिक संरचनासम्बन्धी समस्याहरू पूर्ण रूपमा समाधान हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले अस्थायी अवधिमा देखिएका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रवेशद्वार व्यवस्थापन र फोटो खिच्ने प्रक्रियालाई थप सरल र व्यवस्थित बनाउन संसद् सचिवालय तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गरिने बताउनुभयो।

“संसद् र प्रेसबीचको सम्बन्ध लोकतन्त्र सुदृढीकरणका लागि अपरिहार्य छ,” सभामुख अर्यालले भन्नुभयो, “पत्रकारहरूको सहज पहुँच र प्रभावकारी रिपोर्टिङ सुनिश्चित गर्न आवश्यक सबै सहयोग उपलब्ध गराइनेछ।”

सभामुख अर्यालले संसदीय गतिविधिहरूको पारदर्शिता र प्रभावकारिता अभिवृद्धिका लागि पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको पनि उल्लेख गर्नुभयो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय